काठमाडौँ । विश्व नम्बर १ जानिक सिनरले विम्बल्डन पुरुष एकल उपाधि जितेका छन् । सिनरले पहिलो पटक यो उपाधि जितेका हुन् । उनी विम्बल्डन च्याम्पियनसिपको पुरुष एकल उपाधि जित्ने पहिलो इटालियन खेलाडी बनेका छन् ।
इटालीका सिनरले आइतबार राति लन्डनको अल इङल्याण्ड क्लबको सेन्टर कोर्टमा ३ घण्टा ४ मिनेटसम्म चलेको फाइनल खेलमा स्पेनका कार्लोस अल्काराजलाई ४-६, ६-४, ६-४, ६-४ ले पराजित गरेका हुन् ।
यो जितसँगै, सिनरले अल्काराजसँगको ५ हप्ता अघिको हारको बदला लिएका छन् । ८ जुन २०२५ मा, अल्काराजले सिनरलाई हराएर फ्रेन्च ओपन उपाधि जितेका थिए ।
सिनरको यो आफ्नो क्यारियरको चौथो ग्रान्ड स्लाम उपाधि हो । उनले अस्ट्रेलियन ओपन (२०२४, २०२५) मा दुई पटक र युएस ओपन (२०२४) मा एक पटक च्याम्पियन बनिसकेका छन् ।













