काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ को उपाधि लुम्बिनी लायन्सले जितेको छ। शनिबार सम्पन्न फाइनल खेलमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स च्याम्पियन बनेको हो।
प्रतियोगिताकै सर्वोत्कृष्ट नेपाली खेलाडीको सम्मान लुम्बिनी लायन्सका कप्तान रोहित पौडेलले प्राप्त गरेका छन्। उनले प्रतियोगिताभर २७६ रन बनाउनुका साथै १० विकेट समेत लिँदै उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए। रोहितले पुरस्कारस्वरूप ओमोडा कार प्राप्त गरेका छन्। उनी प्रतियोगिताको उत्कृष्ट ब्याटर पनि घोषित भएका छन्, जसका लागि उनले पल्सर मोटरसाइकल पाए।
रेड बुल इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्टको उपाधि सुदूरपश्चिमका अविनाश बोहराले जितेका छन्। उनले १७ विकेट लिँदै संयुक्त रूपमा सर्वाधिक विकेट लिने खेलाडी बन्न सफल भए।
प्रतियोगिताको समग्र सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुर्नामेन्ट) लुम्बिनी लायन्सका नामिबियन तीव्र गतिका बलर रुबेन ट्रम्पलमन घोषित भएका छन्। उनले १५ विकेट लिँदै निर्णायक भूमिका खेलेका थिए। ट्रम्पलमनले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन्। साथै, फाइनल खेलको प्लेयर अफ द म्याच पनि उनी नै घोषित भए।
प्रतियोगिताको उत्कृष्ट बलरको उपाधि विराटनगरका सन्दीप लामिछानेले हात पारेका छन्। उनले पुरस्कारस्वरूप पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।
त्यसैगरी, लुम्बिनी लायन्सका तिलकराज भण्डारी इनर्जेटिक प्लेयर अफ द टुर्नामेन्ट घोषित भएका छन्।
प्रतियोगिताको उत्कृष्ट इमर्जिङ खेलाडीको सम्मान लुम्बिनी लायन्सकै शेर मल्लले जितेका छन्। उनले पनि पल्सर मोटरसाइकल प्राप्त गरेका छन्।
यसरी सिजन–२ को एनपीएलमा लुम्बिनी लायन्सले उपाधिसँगै व्यक्तिगत पुरस्कारहरूमा समेत वर्चस्व कायम गरेको छ।












