काठमाडौँ । जारी राष्ट्रिय लिग अन्तर्गत प्लानिङ ब्वाइज युनाइटेडले सातदोबटो युथ क्लबमाथि ४-२ गोल अन्तरको जित हासिल गरेको छ । मंगलबार सम्पन्न खेलमा २-१ ले पछि परेको प्लानिङले खेलमा कमब्याक गर्दै जित हासिल गरेको थियो ।
प्लानिङ ब्वाइज युनाइटेडको जितमा फागुराम थारुले दुई गोल गरे भने रोमन भुजेल र एलेक्स विलियम एक एक गोल गरेका थिए । त्यस्तै सातदोबटोका सोभिरोभ र फोडे फोफनाले एक एक गोल गरेका थिए ।
जितसँगै प्लानिङ चार खेलबाट सात अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने चार खेलबाट चार अंकसहित सातदोबटो १२औं स्थानमा रहेको छ ।
यसअघि आजै सम्पन्न अर्को खेलमा लालिगुराँस एफसी र त्रिभुवन आर्मी क्लबले बराबरी खेल्दै अंक बाँडेका छन् ।
यो खेलपछि आर्मी चार खेलमा आठ अंकसहित पाँचौ स्थानमा छ भने पोखराको लालिगुराँस दश अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा रहेको छ ।













