काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ र मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जनाएको छ ।
हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ र बागमती प्रदेशको केही स्थानहरूमा साथै कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम बर्षा भइरहेको महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा/ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
आगामी २४ घण्टा सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले शहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठूला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, दैनिक जन-जीवन, कृषि, स्वास्थ्य, पर्यटन, नदी क्षेत्र आसपासका निर्माण कार्य, सडक तथा हवाई यातायात समेत प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाले सर्वसाधारण तथा सबै सरोकारवाला निकायहरूमा अनुरोध गरेकोछ ।








