काठमाडौँ । अमेरिकाको न्यू मेक्सिकोमा एक अदालतले सामाजिक सञ्जाल कम्पनी मेटामाथि ठूलो जरिवाना लगाएको छ ।
अदालतले मेटाले बालबालिकाको मानसिक स्वास्थ्यमा नकारात्मक असर पुर्याएको र आफ्ना प्लेटफर्महरूमा हुने यौन दुरुपयोगसम्बन्धी जोखिम लुकाएको ठहर गरेको छ । करिब सात हप्तासम्म चलेको सुनुवाइपछि यस्तो फैसला आएको हो ।
अदालतले कम्पनीले सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिएको निष्कर्ष निकालेको छ। साथै, बालबालिकाको मानसिक स्वास्थ्य र जोखिमबारे भ्रामक जानकारी दिँदै अनुचित व्यावसायिक अभ्यास अपनाएको पनि उल्लेख गरिएको छ ।
यस निर्णयसँगै मेटामाथि करिब ३७५ मिलियन डलर बराबरको जरिवाना तोकिएको छ । यद्यपि यो रकम अभियोजन पक्षले माग गरेको भन्दा कम हो ।
अहिलेलाई कम्पनीलाई तुरुन्त कामकाज परिवर्तन गर्न आदेश भने दिइएको छैन । अब अदालतले मेटाका प्लेटफर्महरूले सार्वजनिक हानि पुर्याए कि पुर्याएनन् भन्ने विषयमा थप निर्णय गर्नेछ । यस मुद्दाको अर्को सुनुवाइ मे महिनामा हुने जनाइएको छ ।
फैसला प्रति असहमति जनाउँदै मेटाले अपिल गर्ने जनाएको छ । कम्पनीले आफ्ना प्लेटफर्महरू सुरक्षित बनाउन निरन्तर प्रयास गरिरहेको र हानिकारक सामग्री हटाउने काम भइरहेको दाबी गरेको छ ।
यस मुद्दामा कम्पनीले १३ वर्ष मुनिका प्रयोगकर्तामाथिको प्रतिबन्ध, किशोर आत्महत्यासम्बन्धी सामग्री र एल्गोरिदममार्फत हानिकारक सामग्री फैलिएको विषयमा पनि जाँच भएको थियो ।












