काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो पाँच महिनामा नेपालको वैदेशिक व्यापारमा आयात १५.८३ प्रतिशतले बढेको छ ।
भन्सार विभागले सार्वजनिक विवरण अनुसार चालु आर्थिक बर्षको पहिलो पाँच महिनामा आयात १५.८३ प्रतिशत बढेको छ भने निर्यात ५८.१७ प्रतिशतले बढेको छ । रिपोर्ट अनुसार पाँच महिनमा ७ खर्ब ६६ अर्ब १८ करोड ९१ लाख ९२ हजार बराबरको वस्तु आयात भएको छ । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ६ खर्ब ६१ अर्ब ४८ करोड ८५ लाख ९४ हजार बराबरको आयात भएको थियो ।
यस्तै यस आर्थिक बर्षको पाँच महिनामा एक खर्ब १६ अर्ब ५० करोड ९० लाख ३६ हजार बराबरको वस्तु निर्यात भएको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ७३ अर्ब ६८ करोड ९७ लाख ७१ हजार बराबरको निर्यात भएको थियो ।
यस आर्थिक बर्षको पाँच महिनामा व्यापार घाटा उच्च देखिएको छ । यस अवधिमा व्यापार घाटा १०.५२ प्रतिशतले बढेको छ । व्यापार घाटा चालु आर्थिक वर्षको पाँच महिनामा ६ खर्ब ४९ अर्ब ६८ करोड पुगेको छ भने अघिल्लो आर्थिक बर्षको यसै अवधिमा ५ खर्ब ८७ अर्ब ८२ करोड रहेको थियो ।
भन्सार विभागका अनुसार चालु आर्थिक बर्षको पाँच महिनामा कुल वैदेशिक व्यापार २०.०७ प्रतिशतले बढेको छ । यस अवधिमा कुल वैदेशिक व्यापार ८ खर्ब ८२ अर्ब ६९ करोड पुगेको छ । त्यसैगरी पाँच महिनामा आयात–निर्यात अनुपातमा सुधार देखिएको छ । गत वर्ष ८.९८ गुणा रहेको अनुपात निर्यात बढेपछि यस वर्ष घटेर ६.५८ गुणामा झरेको छ ।













