फागुन १५ गते २०८२ --:--:--
मेनु

काठमाडौंमा घरभाडा दिँदा र घर खाली हुँदा सात दिनभित्र महानगरपालिकालाई सूचना दिनुपर्ने

मेरो आर्थिक मेरो आर्थिक फागुन ४ गते २०७९ ७:४५ AM
काठमाडौंमा घरभाडा दिँदा र घर खाली हुँदा सात दिनभित्र महानगरपालिकालाई सूचना दिनुपर्ने

काठमाडौंमा घरभाडा दिँदा र घर खाली हुँदा महानगरपालिकालाई सूचना सात दिनभित्र दिनुपर्ने भएको छ । बुधबार महानगरपालिकाले सार्वजनिक गरेको घरबहाल व्यवस्था निर्देशिकामा घर भाडामा गए वा नगएको विषयमा सातदिनमा नै सूचीत गरिनुपर्ने लेखिएको छ।

घरबहालमा दिँदा तीनप्रति लिखित सम्झौता गर्नुपर्ने र एकप्रति सम्झौता सम्बन्धित वडा कार्यालयमा बुझाउनु पर्ने महानगरको ‘घरबहाल व्यवस्था निर्देशिका २०७९’ मा उल्लेख गरिएको छ । यसैगरी, बाँकी दुई प्रतिमध्ये एकप्रति भने सम्झौताकर्ताले राख्नुपर्ने हुन्छ । घरबेटीले घरखाली भएको जानकारी नगराएमा सो समयको घरबहाल कर तिर्नुपर्ने हुन्छ ।

कुनै व्यक्तिले आफ्नो स्वामित्वमा रहेको भवन वा भवनको तला, कोठा पसल, वर्कसप, ग्यारेज, गोदाम, टहरा, सेड , कारखाना, घरजग्गा वा बहालमा दिइने जग्गा वा पोखरी बहालमा दिँदा लिखित सम्झौता गर्नुपर्ने व्यवस्थामा उल्लेख गरिएको छ।

घर जग्गा बहालमा लिने र दिने पक्षहरूको पूरा नाम र ठेगाना, नागरिकता नम्बर, राष्ट्रिय परिचयपत्र नम्बर, मोबाइल नम्बर र विदेशी भए राहदानी वा परिचय खुल्ने प्रमाण–पत्र, इमेल ठेगाना, करदाता सङ्केत नम्बरसमेत उल्लेख हुनपर्छ ।

त्यस्तै, बहाल रकम बुझाउने समय तथा प्रक्रिया, बहालमा लगाउने सम्पत्तिमा प्रयोग भएका बिजुली, खानेपानी, टेलिफोन, फोहरमैला व्यवस्थापन आदिको महसुल बुझाउने दायित्व, बहाल कर भुक्तानी गर्ने सम्बन्धी व्यवस्था, बहालमा लिएको भवनको बीमा गर्नुपर्ने भए सोसम्बन्धी कुरा, बहालमा लिएको घर छाड्ने तथा बहालमा बसेको व्यक्तिलाई हटाउने सम्बन्धी कुरा,बहालमा लिएको घर अन्य व्यक्तिलाई बहालमा दिन पाउने वा नपाउने कुरा, बहालमा लिएको भवन मर्मत तथा सम्भारसम्बन्धी व्यवस्था, सम्झौता हेरफेर गर्न सकिने नसकिने भन्ने व्यवस्था, संरचना निर्माण, आंशिक निर्माण वा हेरफेर गर्न पाउने वा नपाउने भन्ने विषय, सम्झौता विपरित घर वा घरजग्गाको प्रयोग गरेमा क्षतिपूर्तिसम्बन्धी व्यवस्था, सम्झौता भङ्ग गर्न सकिने पूर्वसर्तहरू,बहाल छोड्ने वा हटाउने सम्बन्धी व्यवस्था, अन्य आवश्यक कुराहरू समेत समावेश गरिएको हुनुपर्नेछ ।

यसैगरी, घर रहेको स्थान,जग्गाको कित्ता नम्बर, बहालमा लिने भवनको कुल क्षेत्रफल, तला वा कोठाको विवरण, बहालमा लिने प्रयोजन,बहाल सुरु हुने मिति, बहाल कायम रहने अवधि र अवधि थपसम्बन्धी व्यवस्था, मासिक तथा वार्षिक बहाल रकम तथा मासिक वा वार्षिक बहाल रकममा वृद्धि हुने भएमा सोसमेत उल्लेख गरिनुपर्ने व्यवस्था रहेको छ ।

निर्देशिका अनुसार घरबहालको अवधि सामान्यत पाँच वर्षमा नबढाई सम्झौतामा उल्लेख गर्नुपर्नेछ । बहाल सम्झौताको लिखतमा बहाल बस्ने मुख्य व्यक्तिको फोटोसमेत टाँस गर्नुपर्ने र सम्झौताको तीन प्रति लिखतमा बहालमा लिनेरदिने व्यक्ति र दुवै पक्षका कम्तीमा एकरएक जना गरी दुई जना साक्षीको सहीछाप गरी त्यस्तो लिखतको एक प्रति सम्बन्धित वडा कार्यालयमा पेश गर्नुपर्ने र एकरएक प्रति बहालमा लिनेरदिने व्यक्तिले लिनुपर्नेछ ।

बहालमा दिने र बहालमा लिने व्यक्तिबिच बहाल सम्झौता हुनुअघि बहालमा दिने घर वा घरजग्गामा रहेरभएका मालसामान वा वस्तु र सोको मौजुदा अवस्थाको विवरण तयार गरी सो मालसामान वा वस्तु बहालमा बस्ने व्यक्तिलाई प्रयोग गर्न दिने हो भने बहालमा लिनेले बुझिलिएको भर्पाईसमेत गराई त्यस्तो भर्पाईको कागज बहालमा दिनेले लिई सुरक्षित रूपमा राख्नुपर्नेछ ।

हरेक महिनाको पहिलो सातामा भाडा तिर्नुपर्ने

बहालमा लिने व्यक्तिले भने सम्झौता–पत्रमा उल्लेख भए अनुसार निर्धारित समयमा घरधनीलाई बहालको रकम तिर्नुपर्नेछ । बहालमा लिएको घर आफ्नो घरसरह मानी सरसफाई, उचित र मनासिब तवरले हेरचाह, संरक्षण तथा सुरक्षा गर्नुपर्ने, आफू बहालमा रहेको घरका घरधनी, अन्य व्यक्ति वा छिमेकीलाई अशान्ति, हैरानी वा असुरक्षा हुनेजस्ता कुनै काम गर्न नहुने पनि निर्देशिकामा उल्लेख गरिएको छ ।

बहालमा लिने व्यक्तिले बहाल सम्झौतामा बहाल रकम बुझाउने सम्बन्धमा कुनै तरिका वा प्रक्रिया उल्लेख नगरेको भए हरेक महिना समाप्त भएपछिको एक हप्ताभित्र बहालमा दिनेलाई अघिल्लो महिनाको मासिक बहाल बुझाउनुपर्ने छ। बहाल बुझाउँदा चेक, नगदै वा बहालमा दिनेले तोकिदिएको बैंक खातामा रकम जम्मा गरेर बहाल बुझाउन सकिने छ । नगद बुझाउँदा सोको स्पष्ट प्रमाण वा निस्सा लिनुपर्ने छ। बहाल बुझेको भर्पाई, निस्सा वा बैङ्क जम्मा गरेको अवस्थामा भौचर वा बैंक रसिद सुरक्षित रूपमा राख्नु पर्ने पनि उल्लेख गरिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?