नेविसंघको विदेशी सम्बन्धनका कलेजमाथि छानबिन गर्न माग


काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विदेशी सम्बन्धनका नाममा नेपालमा खोलिएका कलेजको छानबिन गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त्रलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।
नेविसंघले विदेशी कलेजको नाममा स्तरहीन र शंकास्पद संस्थाहरूलाई नियमन र अनुगमनबिना शैक्षिक बजार सुम्पिएको भन्दै मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।
संघका शैक्षिक सुधारका निम्ति बृहत संघर्ष समितिका संयोजक, नेपाल विद्यार्थी संघका प्रभावशाली केन्द्रीय सदस्य भूपेन्द्र सिंह थेबेद्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा एकातिर देशका गौरवशाली विश्वविद्यालयलाई स्रोत, साधन र अधिकारविहीन बनाइएको तर अर्कोतिर विदेशी कलेजहरूले मनलाग्दी विद्यार्थी भर्ना गर्ने र मनपरी शुल्कका नाममा असुल्दा पनि सरकार मौन बसेको ध्यानाकर्षण पत्रमा उल्लेख गरिएको छ ।
नेविसंघले राखेका माग:
१. विदेशी सम्बन्धनका नाममा खुलेका सम्पूर्ण कलेजहरूको वैधानिकता, आर्थिक कारोबार र शैक्षिक गुणस्तरमाथि छानबिन गर्न तत्काल एक उच्चस्तरीय न्यायिक छानबिन आयोग गठन गरियोस् ।
२. अन्तर्राष्ट्रिय स्तरमा शंकास्पद र वरीयतामा नपरेका विश्वविद्यालयसँग सम्बन्धन लिएका कलेजलाई तत्काल कालोसूचीमा राखी सम्बन्धन खारेज गरियोस् ।
३. हाल सञ्चालनमा रहेका सबै कलेजका लागि स्वदेशी विश्वविद्यालयसरह विद्यार्थी भर्ना कोटा, शुल्कको वैज्ञानिक मापदण्ड र पाठ्यक्रमको नियमित अनुगमन गर्ने बाध्यकारी कानुनी व्यवस्था तुरुन्त लागू गरियोस् ।
४. यो शैक्षिक अराजकता निम्त्याउन जिम्मेवार मन्त्रालयका कर्मचारीलाई कारबाहीको दायरामा ल्याइयोस् ।
५. यस्ता कलेज सञ्चालन गरिरहेका सञ्चालकहरूको व्यक्तिगत र संस्थागत कारोबारलाई राज्यले तत्काल अनुसन्धानको दायरामा ल्याइयोस् ।
नेविसंघले ध्यानाकर्षण पत्र बुझाउदै आफूहरुका मागलाई बेवास्ता गरेमा देशैभरका विद्यार्थी र अभिभावकहरूलाई साथमा लिएर सडक संघर्षसम्मका कडा आन्दोलनमा जाने चेतावनी दिएको छ ।