अमेरिका र इरानबीच चर्किंदै गएको सैन्य तनावबीच केही समयका लागि तनाव घट्ने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आगामी दुई सातासम्म सैन्य कारबाही स्थगित गर्ने घोषणा गरेका छन्। उनले यस अवधिमा इजरायलले पनि आक्रमण रोक्न सहमति जनाएको बताएका छन्।
सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत जानकारी दिँदै ट्रम्पले इरानविरुद्धको बमबारी तथा आक्रमण अस्थायी रूपमा रोक्ने सहमति भएको उल्लेख गरेका छन्। उनले यस कदमलाई सम्भावित व्यापक युद्धविरामतर्फको प्रारम्भिक प्रयासका रूपमा व्याख्या गरेका छन्।
ट्रम्पका अनुसार यो निर्णय शहबाज शरीफ र असिम मुनिरसँगको परामर्शपछि लिइएको हो। उनीहरूले क्षेत्रीय तनाव थप नबढाउन कूटनीतिक समाधानतर्फ जान सुझाव दिएका थिए।
युद्धविराम सशर्त रहेको स्पष्ट पार्दै ट्रम्पले इरानले स्ट्रेट अफ होर्मुज पुनः सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्। उक्त समुद्री मार्ग खुला हुनु अन्तर्राष्ट्रिय व्यापार र ऊर्जा आपूर्तिका लागि महत्वपूर्ण मानिन्छ।
‘यो दुई पक्षीय युद्धविराम हुनेछ,’ ट्रम्पले उल्लेख गरेका छन्, ‘यस अवधिमा दुवै पक्षबाट आक्रामक गतिविधि रोक्ने अपेक्षा गरिएको छ।’
उनले अमेरिकी सैन्य उद्देश्यहरू पूरा भइसकेको दाबी गर्दै दीर्घकालीन शान्ति प्रक्रियामा प्रगति भइरहेको संकेत गरेका छन्। साथै, इरानबाट १० बुँदे शान्ति प्रस्ताव प्राप्त भएको र त्यसलाई वार्ताको आधार बनाइएको उनले बताएका छन्।
ट्रम्पले दुई साताको समयावधिले अन्तिम सम्झौतामा पुग्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्। उनका अनुसार लामो समयदेखिको द्वन्द्व समाधानतर्फ उन्मुख भइरहेको छ।
यसअघि ट्रम्पले इरानविरुद्ध कडा अभिव्यक्ति दिँदै गम्भीर चेतावनी दिएका थिए, जसको व्यापक आलोचना भएको थियो। सो पृष्ठभूमिमा आएको यो निर्णयलाई कूटनीतिक पहलका रूपमा हेरिएको छ।
युद्धविराम घोषणापछि ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले वार्ता प्रक्रिया जारी रहने जानकारी दिएकी छन्। उनले आगामी रणनीति राष्ट्रपति ट्रम्पको निर्देशनअनुसार अघि बढ्ने बताएकी छन्।
अमेरिकी पक्षले इरानलाई स्ट्रेट अफ होर्मुज खोल्न सहमत गराएको दाबी गर्दै अब कूटनीतिक संवादलाई तीव्रता दिइने जनाएको छ। आगामी वार्ता पाकिस्तानमा हुने तयारी गरिएको भए पनि त्यसबाट ठोस निष्कर्ष निस्कने वा ननिस्कने विषयमा अन्तर्राष्ट्रिय चासो कायम रहेको छ।













