माघ १७ गते २०८२ --:--:--
मेनु

आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८२ ८:२५ PM
आज दिनभरका प्रमुख २० समाचार बुलेटिन

काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।

१- नेपाल आयल निगमले इन्धनको मुल्य बढाएको छ । निगमले शनिबार राति १२ बजेदेखि लागु हुने गरि डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँले बढाएको छ । निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.१२ रुपैयाँ र डिजल तथा मट्टीतेलमा ४.६६ रुपैयाँले बढेर आएको जानकारी दिएको छ । त्यस्तै निगमले हवाई इन्धनको आन्तरिकतर्फ प्रति लिटर १ घटाएको छ भने अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलो लिटरमा ७ अमेरिकी डलर घटेको छ भने पोखरा र भैरहवामा ब्रेक इभन प्वाइन्टमा बिक्री मुल्य कायम राखेको निगमले जनाएको छ । त्यस्तै निगमले ग्याँसमा प्रति सिलिण्डर ४५.४९ रुपैयाँ बढेर आएपनि मुल्य यथावत राखेको निगमले जनाएको छ । मुल्य परिवर्तनपछि काठमाडौँमा डिजेल-मट्टीतेल प्रति लिटर १३९ भएको निगमले जनाएको छ ।

२- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् । शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले कुनै दल वा उम्मेदवारको पक्षमा उभिएर भूमिका खेल्न सक्ने अवस्था देखिएको भन्दै त्यस्तो नतिजा स्वीकार्य नहुने चेतावनी दिएका हुन् । उनले भने- ‘यदि सरकार यसलाई जिताउने, उसलाई हराउने उद्देश्यले अघि बढ्छ भने त्यस्तो निर्वाचन र त्यसको परिणाम स्वीकार्य हुँदैन । सरकार स्वयं पक्षधर बनेर कसैलाई जिताउने र कसैलाई हराउने गतिविधिमा लागे त्यो भन्दा ठूलो अनिष्ट अरू केही हुँदैन ।’ ओलीले निर्वाचन आयोगको स्वीकृति नलिई ठूलो संख्यामा कर्मचारी र सुरक्षाकर्मीको सरुवा गरिएको प्रति पनि आपत्ति जनाएका छन् । उनले काम गरिरहेका अधिकारीहरूलाई समय नपुग्दै हटाएर नयाँ कर्मचारी पठाउनुको उद्देश्य के हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् । ओलीले निर्वाचन गर्ने हो भने स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्छ भन्दै सरकारको प्रमुख जिम्मेवारी स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु भएको बताएका छन् ।

३- वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी एकता पक्षधर समूह नेपाली कम्युनिष्ट पार्टीमा समाहित भएको छ । धनकुमारी सुनारको नेतृत्वमा रहेको एकता पक्षधर समूहलाई आज पार्टी कार्यालय पेरिसडाँडामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालले पार्टीमा समायोजन गराउनुभएको हो । उक्त समूह र नेपाली कम्युनिष्ट पार्टीबीच ८ बुँदे सहमति पनि भएको छ । नेकपामा समाहित हुने नेताहरुमा धनकुमारी सुनार, गणेश रसाइली, यसोदा बराल, विक्रम सुनार, तुलशी परियार, प्रिया बराल, दीपा राना, हेमा सुनार , संगीता सिजापति, सुमित्रा खाती, शर्मिला परियार, कमला विसी र रिता नेपाली लगायतका नेताहरु रहेका छन् ।

४- इजरायलले गाजामा युद्धविरामपछिकै सबै भन्दा ठुलो आक्रमण गरेको छ । इजरायलको आक्रमणमा शनिबार २९ प्यालेस्टिनीको मृत्यु भएको बताइएको छ । गत वर्ष अक्टोबरमा भएको युद्धविरामपछि इजरायलको आक्रमणमा मृत्यु हुने यो सबैभन्दा ठुलो संख्या हो । इजरायलले हमासलाई नयाँ युद्धविराम उल्लङ्घनको आरोप लगाएको एक दिनपछि यी आक्रमणहरू भएका हुन् । आक्रमणहरूले गाजाका विभिन्न क्षेत्रहरूलाई लक्षित गरेका थिए, जसमा एउटा शिविर, एउटा आवासीय भवन र एउटा प्रहरी चौकी समावेश छन् । यसअघि, इजरायलले अघिल्लो साता मात्र इजिप्टको सीमामा रहेको रफाह क्रसिङ फेरि खोल्ने घोषणा गरेको थियो । यो क्रसिङ गत वर्षको सम्झौताको अंश थियो, जसलाई युद्ध अन्त्य गर्ने दिशामा एक महत्वपूर्ण कदम मानिएको थियो ।

५- काजाकिस्तानकी २६ वर्षीया टेनिस खेलाडी एलेना रायबाकिनाले अस्ट्रेलियन ओपनको महिला सिंगलको उपाधि जितेकी छिन् । शनिबार भएको फाइनल खेलमा एलेनाले आफ्नी प्रतिद्वन्द्वी बेलारुसी एरिना साबालिन्कालाई पराजित गर्दै उपाधि जितेकी हुन् । एलेनाले एरिना साबालिन्कालाई तीन सेटको खेलमा २-१ ले जितेकी हुन् । उनले ६-४, ४-६ र ६-४ ले एरिनालाई पराजित गरेकी थिइन् । एलेना यसअघि २०२३ मा एरिनासँग अस्ट्रेलियन ओपनको फाइनलआमा पराजित भएकी थिइन् भने यस पटक सो हारको बदला लिएकी छन् । यो उनको दोस्रो प्रमुख उपाधि हो । उनले यसअघि २०२२ मा विम्बल्डन जितेकी थिइन् । त्यस्तै पुरुषतर्फको फाइनल भने कार्लोस अल्कराज र नोभाक जोकोभिचबीच आइतबार हुदैछ ।

६- नेपालले आजदेखि पोखरामा यू-१९ महिला साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत खराब शुरुवात गरेको छ । पहिलो खेलमा नेपाल भारतसँग १-० गोल अन्तरले पराजित भएको हो । भारतको जितमा पर्ल फर्नानडेजले गरेको गोलनै खेलको निर्णायक गोल बनेको थियो । यस अघि आजै सम्पन्न खेलमा बंगलादेशले भुटानलाई १२-० गोल अन्तरले पराजित गरेको थियो । नेपालसहित भारत, भुटान र बंगलादेशले भाग लिएको यस प्रतियोगितामा अब अर्को खेल फेब्रुअरी २ मा भारत र बंगलादेश तथा नेपाल र भुटानबीच हुने तालिका रहेको छ ।

७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहको चुनावी अभियानका क्रममा अछाममा बेहोस भएका सञ्चारकर्मी दिनेश सिटौलाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । अछाममा ढलेपछि हेलिकप्टरमार्फत काठमाडौंको टोखास्थित ग्राण्डी अस्पतालमा उपचारत सिटौलालाई शनिबार बालेनले भेटेका छन् । बालेनले सिटौलाको स्वास्थ्य अवस्थाका कारण चुनावी प्रचारका कार्यक्रम छोट्याएर काठमाडौं फर्किएका छन् । शनिबार दिउँसो बालेन ग्राण्डी अस्पताल पुगेर सिटौलाको परिवारसँग भेट गर्दै स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए । सिटौलाको अवस्था बारे जानकारी लिन नपाएको भन्दै परिवारले बालेनसँग गुनासो गरेका थिए । बालेनले परिवारका सदस्यलाई धैर्य गर्न आग्रह गरेको बताइएको छ । अस्पतालले सिटौलालाई ‘हेमोरेजिक स्ट्रोक’ भएको पुष्टि गरेको र हाल आईसीयूमा उपचार भइरहेको छ ।नुवाकोट स्थायी घर भएका ४४ वर्षीय दिनेश सिटौला पेशाले चलचित्र पत्रकार हुन् भने उनी चलचित्र पत्रकार संघका पूर्व अध्यक्षसमेत हुन् ।

८- संयुक्त राज्य अमेरिकाले इजरायललाई ६.६ अर्ब डलर बराबरको हतियार बिक्रीलाई अनुमोदन गरेको छ । अमेरिकी विदेश मन्त्रालयले इजरायलले अब अमेरिकी निर्मित हतियारहरू किन्न सक्ने बताएको छ । यसमा ३० अपाचे आक्रमण हेलिकप्टरहरू समावेश छन्, जसको मूल्य ३.८ अर्ब डलर छ । बोइङ र लकहिड मार्टिनले इजरायललाई यी हेलिकप्टरहरू बेच्नेछन् । थप रूपमा, इन्फन्ट्री आक्रमण सवारी साधनहरू वा संयुक्त हल्का रणनीतिक सवारी साधनहरूको बिक्री हुनेछ, जसमा ३ हजार २५० सवारी साधनहरू हुनेछन् । ७४० मिलियन डलरको अर्को सम्झौतामा बख्तरबंद कर्मचारी वाहकहरूको लागि पावर प्याकहरू समावेश छन् । अपाचे हेलिकप्टरहरू पहिले नै इजरायली सेनाले वेस्ट बैंक र गाजामा प्यालेस्टिनीहरूलाई आक्रमण गर्न प्रयोग गरिरहेको छ । मानव अधिकार संगठनहरूले अमेरिकालाई इजरायललाई हतियार आपूर्ति नगर्न बारम्बार आह्वान गरेका छन् । उनीहरुले यी हतियारहरू इजरायलले गाजामा नरसंहार गर्न प्रयोग गर्दछ । त्यस्तै अमेरिकी विदेश मन्त्रालयले साउदी अरेबियालाई ९ अर्ब डलर बराबरको प्याट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू बिक्रीलाई अनुमोदन गरेको छ । यसमा ७३० प्याट्रियट मिसाइलहरू समावेश छन् । मन्त्रालयले यसले साउदी अरेबियाको सैन्य क्षमता बढाउने र क्षेत्रीय वायु तथा क्षेप्यास्त्र प्रतिरक्षा प्रणालीमा योगदान पुर्‍याउने बताएको छ ।

९- अमेरिकाले पश्चिम एसियामा तनाव बढाउँदै इरानमा आफ्नो सबैभन्दा ठूलो जहाज पठाएको छ । इरानले पनि होर्मुजको जलडमरूममा दुई दिने नौसेना अभ्यासको घोषणा गर्दै अडान लिएको छ । प्रतिक्रियामा, अमेरिकी केन्द्रीय कमान्डले इरानी सेनालाई चेतावनी जारी गरेको छ, जसले अमेरिकी युद्धपोतहरूमाथि उडान गर्ने जस्ता असुरक्षित चालहरू सहन नसक्ने बताएको छ, जसमा अमेरिकी जहाजहरूसँग ठोक्किने प्रयास गर्ने इरानी स्पीडबोटहरू पनि समावेश छन् । यसअघि, इरानी विदेशमन्त्री अब्बास अराघचीले आफ्नो देश निष्पक्ष र समान वार्ताको लागि तयार रहेको बताएका थिए, तर ट्रम्पको मुख्य मागहरूलाई अस्वीकार गरेका थिए । अराघचीले रक्षा रणनीति र क्षेप्यास्त्र प्रणाली कहिल्यै वार्ताको विषय हुने नहुने स्पष्ट गरेका छन् । इरानले हालैको १२ दिनको युद्धले आफ्नो सैन्य क्षमताहरू बलियो बनाएको पनि दाबी गरेको छ । इरानको सरकारी समाचार एजेन्सीका अनुसार, सेना प्रमुख अमिर हतामीले एक सैन्य समारोहमा द्वन्द्वले इरानी सेनालाई आफ्नो शक्ति र कमजोरीहरू बुझ्ने, साथै शत्रुको रणनीतिहरूको राम्रोसँग मूल्याङ्कन गर्ने अवसर दिएको बताएका थिए । हतामीका अनुसार यस युद्धपछि इरानको क्षेप्यास्त्र प्रणाली, वायु रक्षा र समग्र सैन्य क्षमताहरू अझ राम्रो र बलियो भएका छन् । होर्मुजको जलडमरूमलाई इरानले चाँडै नै तयारी गरिरहेको नौसेना अभ्यासको केन्द्र मानिन्छ । यो साँघुरो जलमार्गले फारसी खाडीलाई ओमानको खाडीसँग जोड्छ र विश्वको सबैभन्दा महत्त्वपूर्ण समुद्री लेनहरू मध्ये एक हो । यो जलडमरूमले विश्वव्यापी रूपमा ठूलो मात्रामा तेल र ग्यास बोक्छ । इरान र ओमानको क्षेत्रीय पानीमा भए पनि, यसलाई अन्तर्राष्ट्रिय जलमार्ग मानिन्छ । अमेरिकी ऊर्जा सूचना प्रशासनका अनुसार, यसबाट गुज्रने अधिकांश तेल र ग्यासको लागि कुनै वैकल्पिक मार्ग छैन । यसको ठूलो हिस्सा एसियाली देशहरूलाई आपूर्ति गरिन्छ । गत वर्ष जुनमा इजरायलले इरानमा १२ दिने आक्रमण गर्दा यस मार्गमा तनाव बढेको थियो, जसले विश्वव्यापी ऊर्जा मूल्यहरूमा पनि असर पारेको थियो । इरानका शीर्ष सुरक्षा अधिकारी र सर्वोच्च नेताका सल्लाहकार अली शामखानीले शत्रुको कुनै पनि कारबाहीलाई प्रभावकारी र निवारक प्रतिक्रिया दिइने बताएका छन् । उनले इरानले आफूलाई समुद्री नियन्त्रणमा सीमित नगर्ने तर विस्तृत सैन्य विकल्पहरूको लागि पूर्ण रूपमा तयार रहेको स्पष्ट गरेका छन् । शामखानीले फारसी खाडी र ओमानको खाडीमा अमेरिकी सैन्य उपस्थिति बढेको अर्थ अमेरिकाले त्यहाँ फाइदा नउठाएको बताए ।

१०- नेपाली राष्ट्रिय क्रिकेट टिमले मुम्बई-११ विरुद्ध लगातार दोस्रो अभ्यास खेलमा जित हासिल गरेको छ । मुम्बईको ब्रेबोर्न क्रिकेट स्टेडियममा शनिबार सम्पन्न अभ्यास खेलमा नेपालले मुम्बई- ११ लाई ४८ रनले पराजित गरेको हो । नेपालले दिएको १८४ रनको लक्ष्य पछाएको मुम्बई- ११ ले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो । यस खेलमा नेपाली बलर सन्दीप लामिछानेले ३ तथा ललित राजबंशी र गुलशन झाले २-२ विकेट लिएका थिए । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको नेपालले २० ओभरमा ५ विकेट गुमाएर १८३ रन बनाएको थियो । नेपालका लागि आरिफ सेखले अविजित ६६ तन बनाए भने सन्दीप जोराले ३१, गुलशन झाले २३, आसिफ सेखले २५ र लोकेश बमले १५ रन बनाएका थिए । अब नेपालले युएई र क्यानडासँग विश्वकपको वार्मअप खेल खेल्ने भएको छ । नेपालले युएईविरुद्ध फेब्रुअरी ३ मा चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा खेल्ने छ भने यो खेल साँझ सबा ५ बजेदेखि शुरु हुने छ । त्यस्तै अर्को खेल क्यानडाविरुद्ध फेब्रुअरी ५ मा चेन्नईमै खेल्ने तालिका छ । यो खेल दिउसो सवा १ बजेदेखि शुरु हुने छ । नेपाल रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टिम विश्वकपमा तेस्रो पटक सहभागी हुदै छ । विश्वकप खेल्ने नेपाली टिममा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, गुल्सन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, करण केसी, शेर मल्ल र बसिर अहमद रहेका छन् । आईसीसी विश्वकप आगामी फेब्रुअरी ७ देखि ८ मार्चसम्म भारत र श्रीलंकामा हुनेछ । नेपालको समूह स्कटल्याण्ड, इङल्यान्ड, इटाली र वेष्ट इण्डिज रहेका छन् । नेपालले पहिलो खेल आगामी फेब्रुअरी ८ मा इङल्यान्डसँग, फेब्रुअरी १२ मा इटाली, १५ मा वेष्ट इण्डिज र १७ मा स्कटल्याण्डसँग खेल्ने छ । नेपालले आफ्ना सबै खेल मुम्बईस्थित वाङखडे स्टेडियममा खेल्ने तालिका छ ।

११- निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ । आयोगले सातवटै प्रदेश मातहतका जिल्लाको मतपत्रको नमूना सार्वजनिक गरेको छ । त्यसमा एउटा मात्र निर्वाचन क्षेत्र भएको जिल्लाको एक प्रकारको र एकभन्दा बढी निर्वाचन क्षेत्र भएका जिल्लाको अर्को प्रकारको मतपत्रको नमूनासमेत सार्वजनिक गरेको छ । त्यसैगरी, उम्मेदवारको सङ्ख्याका आधारमा पनि मतपत्रको नमूना तयार पारिएको आयोगले प्रष्ट पारेको छ । उम्मेदवार धेरै भएका निर्वाचन क्षेत्रका मतपत्रको आकार तुलनात्मक रूपमा ठूलो र कम उम्मेदवार भएका निर्वाचन क्षेत्रको हकमा भने सानो मतपत्र रहने भएको छ । सबैभन्दा धेरै निर्वाचन क्षेत्र भएको काठमाडौँमा उम्मेदवार पनि बढी भएकाले मतपत्रको आकार ठूलो हुनेछ ।आयोगका अनुसार कर्णाली प्रदेशको सल्यान, डोल्पा, मुगु, जुम्ला, कालिकोट, हुम्ला, जाजरकोट र रुकुमपश्चिममा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । दैलेख र सुर्खेतमा दुईवटा निर्वाचन क्षेत्र रहेको छ । ती जिल्लाको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । यस्तै, सुदूरपश्चिम प्रदेशको बाजुरा, बझाङ, डोटी, दार्चुला, बैतडी र डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको छ । अछाममा दुई, कञ्चनपुरमा तीन र कैलालीमा पाँच निर्वाचन क्षेत्र रहेको छ । ती सबै निर्वाचन क्षेत्रको वास्तविक मतपत्रको नमूनासमेत आयोगले सार्वजनिक गरेको छ । अन्य जिल्लाका पनि वास्तविक मतपत्र क्रमशः सार्वजनिक गर्दै जाने आयोगले जनाएको छ । जनक शिक्षा सामग्री केन्द्रमा मतपत्र छपाइको काम जारी छ । आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रको छपाइ सम्पन्न भइसकेको जनाएको छ । त्यसैगरी, आयोगले विभिन्न जिल्लाका विभिन्न निर्वाचन क्षेत्रको नमूना मतपत्र तयार पारेर निर्वाचन सचेतनाको कार्यक्रम पनि अगाडि बढाएको छ । मतदाता सचेतना कार्यक्रमका लागि तयार पारिएको नमूना मतपत्र विभिन्न मतदान केन्द्र मातहत पुर्याउने काम पनि अगाडि बढेको आयोगले जनाएको छ ।

१२- अस्ट्रेलियाले आइसीसी टी-२० क्रिकेट विश्वकपका लागि टिमको घोषणा गरेको छ । अस्ट्रेलियाले मिच मार्शको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरेको हो । अस्ट्रेलियाले विश्वकपका लागि टेस्ट कप्तान पाट कमिन्स, स्टिभ स्मिथ र माथ्युज शर्टलाई बाहिर राखेर टिमको घोषणा गरिएको छ । यसमा कमिन्स इन्जुरिका कारण विश्वकपबाट बाहिर भएको बताइएको छ । अस्ट्रेलियाली टोली: मिच मार्श (कप्तान), जेभियर बार्टलेट, कूपर कोनोली, बेन द्वारशुइस, क्यामरुन ग्रिन, ट्राभिस हेड, जोश इङ्गलिस, म्याथ्यू कुन्नेम्यान, म्याथ्यू रेन्शा, मार्कस स्टोइनिस, एडम जाम्पा, जोश हजेलवूड, ग्लेन म्याक्सवेल, टिम डेभिड र नाथन एलिस रहेका छन् । आइसीसी पुरुष टी–२० विश्वकप फेब्रुअरी ७ देखि सुरु हुँदैछ । प्रतियोगितामा नेपालसहित कुल २० देशले सहभागिता जनाउँदैछन् । विश्वकपको समूह ‘ए’ मा आयोजक राष्ट्र भारत, पाकिस्तान, संयुक्त राज्य अमेरिका, नेदरल्यान्ड्स र नामिबिया छन् । त्यस्तै समूह ‘बी’ मा आयोजक राष्ट्र श्रीलंका, अस्ट्रेलिया, आइरल्यान्ड, जिम्बाब्वे र ओमान रहेका छन् । टी–२० विश्वकप खेल्ने समूह ‘सी’ मा नेपाल, वेस्ट इन्डिज, स्कटल्याण्ड, इटाली र इङल्याण्ड रहेका छन् । समूह ‘डी’ मा भने न्युजिल्यान्ड, दक्षिण अफ्रिका, अफगानिस्तान, क्यानडा र युएई रहेका छन् । अस्ट्रेलियाले विश्वकपमा आफ्नो पहिलो खेल फेब्रुअरी ११ मा आयरल्याण्डविरुद्ध खेल्दैछ ।

१३- विश्व बजारमा सुनचाँदीको मुल्यमा ठुलो गिरावट आएको छ । विश्व बजार सुनको मुल्यमा ८.३५ प्रतिशत घटेको छ भने चाँदीको मुल्यमा २५ प्रतिशतको गिरावट आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केभिन वार्शलाई अर्को फेडरल रिजर्भ अध्यक्षको रूपमा मनोनित गरेपछि बहुमूल्य धातुहरूमा गिरावट आउन शुरु भएको देखिएको छ । वार्शको मनोनयनपछि अमेरिकी डलरमा सुधार ल्यायोर बहुमुल्य धातुको मुल्य घट्न थालेको हो । विश्लेषकहरूले मुद्रास्फीति नियन्त्रण र फेड स्वतन्त्रतामा जोड दिने आफ्नो हठी अडानका कारण वार्श कम ब्याजदरको समर्थनमा कम हुने बताएका छन्, जसले बहुमूल्य धातु व्यापारीहरूमाझ बिक्री बढाएको छ । सुनको मुल्य ८.३५ प्रतिशत घटेपछि सुनको प्रति औंस मुल्य ४ हजार ९०८ डलर पुगेको छ । सुनको हाल टप एसेटस मार्केट क्याप ३४ हजार १२१ ट्रिलीयन डलर रहेदै शिर्ष स्थानमा रहेको छ । त्यस्तै चाँदीको मुल्य २५.५० प्रतिशतले घटेर प्रति औँस ८५.२५ डलर रहेको छ । चाँदीको हाल टप एसेटस मार्केट क्याप ४.७९९ ट्रिलीयन डलर रहेको छ र विश्वको दोस्रो बहुमुल्य सम्पत्तिको रुपमा रहेको छ ।

१४- बलिवुड फिल्म बोर्डर- २ ले भारतीय बक्स अफिसमा शानदार शुरुवात गरेको छ । अघिल्लो शुक्रबार रिलिज भएको बोर्डर- २ ले दोस्रो सातामा पनि शानदार शुरुवात गरेको छ । फिल्मले दोस्रो शुक्रबार १२.५३ करोड कमाई गर्दै अहिलेसम्म २५७.५ करोड कमाई गरेको बलिवुड फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । बोर्डर-२ ले रिलिको पहिलो शुक्रबार ३२.१०, शनिबार ४०.५९ करोड, आइतबार ५७.२० करोड, सोमबार ६३.५९, मंगलबार २३.३१ करोड, बुधबार १५.०४ करोड र विहिबार १३.१४ करोड कमाई गर्दै पहिलो सातामा २४४.९७ करोड कमाई गरेको थियो । करिब २०० करोडमा बनेको यो फिल्म १९९७ मा रिलीज भएको सुपरहिट फिल्म बोर्डरको सिक्वेल हो । १९९७ मा बोर्डरले पहिलो दिनमा १.१० करोड कमाएको थियो । त्यस्तै फिल्मले त्यतिबेला कुल नेट बक्स अफिस कलेक्सन ३९.३० करोड गरेको थियो । बोर्डर- २ मा सनी देओल, वरुण धवन, दिलजीत दोसांझ, अहान शेट्टी, मोना सिंह, मेधा राणा, सोनम बाजवा र अन्या सिंहको प्रमुख भूमिका रहेको छ । अनुराग सिंह र निखिल नटराजनले लेखेको यस फिल्मका निर्देशक अनुराग सिंह हुन् । त्यस्तै यो फिल्म भूषण कुमार, कृष्ण कुमार, जे.पी. दत्ता र निधि दत्ता (टी-सिरीज फिल्म्स र जे.पी. फिल्म्सको ब्यानर अन्तर्गत) ले बनेको हो ।

१५- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस सोच र शैलीमै बदलिएर आएको बताएका छन् । शनिबार काँग्रेस काठमाडौं–४ को निर्वाचन परिचालन मुल समिति गठन समारोहमा बोल्दै सभापति थापाले कांग्रेसमा अनुहार मात्र बदलिएको नभएर सोच र शैलीमै बदलिएको बताएका हुन् । उनले भने- ‘नेपाली कांग्रेस पार्टीको सोच बदलिएको छ, संकल्प बदलिएको छ, यसको शैली बदलिन्छ र यसको अब काम बदलिन्छ । यसले दिने परिणाम पनि बदलिएर नयाँ आउँछ ।’ कांग्रेस पार्टी पुरानो भएकोमा गर्व रहेको बताउदै सभापति थापाले पुरानो कांग्रेसका राम्रा कुरालाई स्वीकार गरेरै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे । उनले नागरिकमा अहिले देशमा सुशासन होस् भन्ने अपेक्षा रहेको बताउदै काँग्रेसले जनताको अपेक्षा अनुसार नै अगाडी बढ्ने स्पष्ट गरे । साथै उनले अब नयाँ स्थानीय चुनाव र प्रदेशको चुनावभन्दा अगाडि पार्टीको महाधिवेशन हुने बताउदै कांग्रेसको नयाँ महाधिवेशनले पार्टीभित्रका सबै कुरालाई सम्बोधन गर्ने बताए । अहिले समय अभावका कारण आफुले सोचे जस्तो उम्मेदवार छनौट गर्न नसकेको बताउदै सभापति थापाले अब कांग्रेसमा उम्मेदवारको टिकटका लागि आकांक्षी कसैले पनि सभापति र महामन्त्रीको घर धाउनु नपर्ने दाबि गरे । उनले अब आउने चुनावमा तल्लो तहमै प्राइमेरी चुनावबाट उम्मेदवार छान्ने स्पष्ट गरे ।

१६- पूर्वी प्रजातान्त्रिक गणतन्त्र कंगोको रुबाया कोल्टेन खानीमा पहिरो जाँदा २०० भन्दा बढीको मृत्यु भएको छ । स्थानीय अधिकारीहरूका अनुसार, वर्षाको समयमा जमिन कमजोर हुँदा बुधबार दुर्घटना भएको थियो, जसले गर्दा खानी भत्किएको थियो । गभर्नरका प्रवक्ता लुबुम्बा काम्बेरे मुयिसाले बताएअनुसार पहिरोमा २०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ, जसमा खानी कामदार, बालबालिका र बजारमा तरकारी र फलफूल बेच्ने महिलाहरू पनि समावेश छन् । भग्नावशेषबाट शव निकाल्ने प्रयास जारी रहेकोले शुक्रबार साँझसम्म पनि मृत्यु हुनेको संख्या स्पष्ट नभएको बताइएको छ ।

१७- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) को काठमाडौंको मण्डिकाटारस्थित घरमा चोरी भएको छ भने गेटमा तोडफोड भएको छ । शुक्रबार राति अज्ञात व्यक्तिहरूले घरको गेटमा रहेको ग्रिल फुटाएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । प्रहरीका अनुसार घटनामा चोरीको आशंका गरिएको छ । सो समयमा घरमा को थियो र घरमा के के सामान चोरी भयो भन्ने बारे अनुसन्धान कै क्रममा रहेको प्रहरीले जनाएको छ । बालेन हाल चुनावी प्रचारका क्रममा कर्णालीमा रहेका छन् भने उनकी श्रीमती सबिना काफ्ले पनि चुनावी प्रचारप्रसारका क्रममा झापा-५ मा रहेको समयमा घरमा चोरी भएको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

१८- अमेरिकाको चर्चित यौन प्रकरण एपस्टाइन फाइलसँग सम्बन्धि थप लाखौं फाइल सार्बजनिक गरिएको छ । अमेरिकी न्याय मन्त्रालयले दोषी ठहरिएका यौन अपराधी जेफ्री एपस्टाइनसँग सम्बन्धित लाखौं नयाँ फाइलहरू जारी गरेको हो । यस प्रकरणसँग सम्बन्धित ३० लाख पृष्ठ, एक लाख ८० हजार तस्बिर र दुई हजार भिडियो सार्वजनिक गरिएको छ । यसअघि, गत वर्ष डिसेम्बरमा हजारौं पृष्ठका कागजातहरू जारी गरिएका थिए । नयाँ कागजातहरूमा जेफ्री एपस्टाइनको जेलमा बिताएको समयको विवरणहरू, साथै नाबालिग केटीहरूको बेचबिखनमा सहयोग गरेको आरोपमा दोषी ठहरिएका एपस्टाइनका सहयोगी ग्लिन म्याक्सवेलमाथिको अनुसन्धानका रेकर्डहरू रहेका छन् । यसमा एपस्टाइन र उच्च-प्रोफाइल व्यक्तिहरू बीचका इमेलहरूपनि संलग्न रहेका छन् । नयाँ जारी गरिएका कागजातहरूमा राष्ट्रपति डोनाल्ड ट्रम्पको सयौं पटक उल्लेख गरिएको छ । यद्यपि, ट्रम्पले एपस्टाइनको यौन अपराधको बारेमा जानकारीलाई निरन्तर अस्वीकार गर्दै आएका छन् । एपस्टाइन प्रकरणमा समबन्धितहरूले ट्रम्पलाई कुनै पनि अपराधको आरोप लगाएका छैनन् । नयाँ कागजातहरूमा ट्रम्पविरुद्ध लगाइएका आरोपहरूको बारेमा सोध्दा, न्याय मन्त्रालयले केही कागजातहरूमा राष्ट्रपति ट्रम्पविरुद्ध झूटा र सनसनीपूर्ण दाबीहरू रहेको, ति कागजहरु २०२० को चुनावको केही समय अघि एफबीआईलाई पेश गरिएको बताएको छ । मन्त्रालयले भनेको छ- ‘स्पष्ट रूपमा, यी दाबीहरू आधारहीन र झूटा छन् र यदि तिनीहरूमा अलिकति पनि सत्यता भएको भए, तिनीहरू निश्चित रूपमा राष्ट्रपति ट्रम्प विरुद्ध प्रयोग भइसकेका हुन्थे।’ नयाँ फाइलहरूमा माइक्रोसफ्टका सह-संस्थापक बिल गेट्सविरुद्ध पनि सनसनीपूर्ण आरोपहरू छन् । बिल गेट्सका प्रवक्ताले यी आरोपहरूलाई पूर्णतया झुटो भनेका छन् ।

१९- नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले महिला एशिया कप राइजिंग स्टार्स-२०२६ खेल्ने भएको छ । फेब्रुअरी १३ देखि २२ सम्म थाइल्याण्डमा हुने प्रतियोगितामा नेपालसहित बंगलादेश ए, भारत ए, पाकिस्तान ए, श्रीलंका ए, मलेसिया, थाइल्याण्ड र युएई गरेर ८ देशले भाग लिदैछन् । यस प्रतियोगिता,मा नेपाल समुह ए मा रहेको छ । नेपालको समुहमा भारत ए, पाकिस्तान ए र युएई रहेका छन् । नेपालले पहिलो खेल फेब्रुअरी १३ मा पाकिस्तान ए सँग खेल्ने छ भने दोस्रो खेल फेब्रुअरी १५ मा युएईसँग र फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने छ । दुई समुहका शिर्ष दुई देशले सेमिफाइनल खेल्ने छन् भने फाइनल खेल फेब्रुअरी २२ मा हुने छ । नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिमको घोषणा गरेको छ । नियमित कप्तान घाइते भएपछि पुजाले पहिलो पटक नेपाली सिनियर टिमको कप्तानी गर्ने भएकी छन् । नेपाली टिममा पुजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमा केसी रहेका छन् ।

२०- एप्पलका सक्रिय उपकरणहरू अहिले २.५ अर्ब पुगेको छ । यसमा आईफोन, आईप्याड, म्याक, एप्पल घडी र अन्य एप्पल उत्पादनहरू रहेका छन् । कम्पनीले यो तथ्याङ्कलाई प्रमुख उपलब्धिको रूपमा हेरेको छ । एप्पलका प्रमुख कार्यकारी अधिकृत टिम कुकका अनुसार, जनवरी २०२५ मा एप्पलसँग २.३५ अर्ब सक्रिय उपकरणहरू थिए, जुन २०२४ मा २.२ अर्ब थियो । यसको अर्थ २०२४ र २०२६ को बीचमा एप्पलको सक्रिय प्रयोगकर्ता आधारमा लगभग १५ करोड नयाँ उपकरणहरू थपिनेछन्, जसले निरन्तर बढ्दो माग देखाउछ । यस त्रैमासिकमा, एप्पलको आईफोन राजस्व वर्ष दर वर्ष २३ प्रतिशतले बढेर ८५.२७ अर्ब डलर पुगेको छ । कम्पनीले यो ठूलो वृद्धिको श्रेय सेप्टेम्बरमा लन्च गरिएको आईफोन १७ सिरिजलाई दिइएको छ । सीईओ टिम कुकले आईफोनको माग आश्चर्यजनक रहेको बताए । २०२६ को पहिलो त्रैमासिकमा, कम्पनीले १४३.८ अर्ब डलरको रेकर्ड आम्दानी गरेको छ । यसमा आइफोनले मात्र सबैभन्दा बढी योगदान पुर्‍याएको छ, जसले ८५.३ अर्ब डलर कमाएको छ । यो अघिल्लो वर्षको तुलनामा उल्लेखनीय २३ प्रतिशतले वृद्धि भएको छ । म्याकको बिक्री कुल ८.३९ अर्ब डलर थियो, जुन अपेक्षाभन्दा कम थियो र वर्ष दर वर्ष ७ प्रतिशतले गिरावट आएको थियो । यसैबीच, आइप्याड व्यवसायले राम्रो प्रदर्शन गर्‍यो, ८.६० अर्ब डलर कमाएको थियो, जुन ६ प्रतिशतले वृद्धि भएको थियो । उल्लेखनीय रूपमा, आइप्याड खरिदकर्ताहरूमध्ये लगभग आधा नयाँ प्रयोगकर्ताहरू थिए । एप्पलले पहिरनयोग्य वस्तुहरू, घर र सामानहरूको वर्गमा धक्का भोगेको थियो । यस क्षेत्रबाट राजस्व ११.४९ अर्ब डलर थियो, जुन अपेक्षाभन्दा कम थियो र वर्ष दर वर्ष २ प्रतिशतले गिरावट आएको थियो । एप्पलको सेवा व्यवसायले ३०.०१ अर्ब डलर कमाएको छ, जुन १४ प्रतिशतले वर्ष दर वर्ष वृद्धि भएको थियो । यसमा एप्पल टिभी, आइक्लाउड, एप्पलकेयर र विज्ञापन राजस्व समावेश छ । टिम कुकका अनुसार, डिसेम्बरमा एप्पल टिभीको दर्शक संख्या ३६ प्रतिशतले बढेको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?