काठमाडौँ । देशका विभिन्न स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ परेका छन्।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको टनेल गेटबाट करिब ३ किलो ४ सय ३५ ग्राम गाँजाजस्तो पदार्थसहित थाइल्यान्डका ३९ वर्षीय एक व्यक्ति पक्राउ परेका छन्। बैंककबाट आएको उडानमार्फत काठमाडौं आइपुगेका उनलाई जाँचका क्रममा प्रहरीले नियन्त्रणमा लिएको हो।
झापाको मेचीनगरबाट ७३ ग्रामभन्दा बढी खैरो हेरोइनजस्तो पदार्थसहित एक जना पक्राउ परेका छन् भने कैलालीको टीकापुरबाट २ जनालाई सानो मात्रामा खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको छ । मोरङको सुन्दरहरैँचाबाट ब्राउनसुगरजस्तो पदार्थसहित एक जना र विराटनगरबाट खैरो हेरोइनसहित अर्का एक जना पक्राउ परेका छन्।
दाङको तुलसीपुरमा एक जनालाई ब्राउनसुगरजस्तो पदार्थ र डिजिटल तराजुसहित पक्राउ गरिएको छ। सुनसरीको धरानबाट ठूलो परिमाणमा ट्रामाडोल, स्पास्पेन र डिकोलिक ट्याब्लेटसहित २ जना पक्राउ परेका छन्। यसैगरी कञ्चनपुरको बेलौरीबाट ब्राउनसुगरजस्तो पदार्थसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका सबैमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।













