काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन निष्पक्ष हुनेमा आशंका व्यक्त गरेका छन् ।
शनिबार ओखलढुंगा–काठमाडौं सम्पर्क मञ्चद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले कुनै दल वा उम्मेदवारको पक्षमा उभिएर भूमिका खेल्न सक्ने अवस्था देखिएको भन्दै त्यस्तो नतिजा स्वीकार्य नहुने चेतावनी दिएका हुन् ।
उनले भने- ‘यदि सरकार यसलाई जिताउने, उसलाई हराउने उद्देश्यले अघि बढ्छ भने त्यस्तो निर्वाचन र त्यसको परिणाम स्वीकार्य हुँदैन । सरकार स्वयं पक्षधर बनेर कसैलाई जिताउने र कसैलाई हराउने गतिविधिमा लागे त्यो भन्दा ठूलो अनिष्ट अरू केही हुँदैन ।’
ओलीले निर्वाचन आयोगको स्वीकृति नलिई ठूलो संख्यामा कर्मचारी र सुरक्षाकर्मीको सरुवा गरिएको प्रति पनि आपत्ति जनाएका छन् । उनले काम गरिरहेका अधिकारीहरूलाई समय नपुग्दै हटाएर नयाँ कर्मचारी पठाउनुको उद्देश्य के हो ? भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
ओलीले निर्वाचन गर्ने हो भने स्वतन्त्र, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्नुपर्छ भन्दै सरकारको प्रमुख जिम्मेवारी स्वच्छ, निष्पक्ष र धाँधलीरहित निर्वाचन गराउनु भएको बताएका छन् ।













