माघ १७ गते २०८२ --:--:--
मेनु

काठमाडौँ महानगरले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने, सर्वेक्षण सुरु हुँदै

मेरो आर्थिक मेरो आर्थिक माघ १७ गते २०८२ ५:४० PM
काठमाडौँ महानगरले ७० वर्षमाथिका सहयोगापेक्षी ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा दिने, सर्वेक्षण सुरु हुँदै

काठमाडौँ । ७० वर्ष माथिका जेष्ठ नागरिकहरुलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रमअन्तर्गत काठमाडौँ महानगरपालिकाले उनीहरुको उहाँहरुको स्वास्थ्य अवस्था सर्वेक्षणको काम भोलि (माघ १८, २०८२) बाट सुरु गर्दैछ । सर्वेक्षणका लागि घरघरमा जाने नर्सिङ् कर्मचारीका लागि तालिमपछि स्वास्थ्य परीक्षण गर्ने सामग्री, औषधि र सर्वेक्षण गर्ने ट्वाबलेटसहितका साधन प्रदान गरिएको छ । 

सर्वेक्षणमा जाने स्वास्थ्यकर्मीलाई अपेक्षित नतिजाका विषयमा कुरा गर्दै कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्- ‘यो तपाईँहरुको पदीय जिम्मेवारी मात्र होइन । मानवीय सेवाको काम पनि हो । त्यसैले जिम्मेवारी पूरा गर्न होइन । कोही नभएका र केही नभएका ज्येष्ठ नागरिकलाई हाम्रा लागि पनि कोही रहेछन् । पर्दा सहयोग पाइने रहेछ भन्ने मनदेखि नै अनुभूति गराउने आचरण गर्नुहोला । आपत टार्ने पैसा नहुँदा, अप्ठ्यारो पर्दा साथ दिने कोही नहुँदा तपाईँले सोचेको जस्तो व्यवहार ज्येष्ठ नागरिकबाट प्राप्त नहुन सक्छ । यसलाई स्वभाविक ठान्नु । उहाँहरुलाई सम्झाउनु बुझाउनु, सहज वातावरण बनाएर काम गर्नु ।’

जसको केही छैन अर्थात् आर्थिक अवस्था कमजोर छ । जसको कोही छैन अर्थात सम्पत्ति छ तर सहयोग गर्ने परिवारका सदस्य कोही साथमा छैनन् । त्यस्ता ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकतामा राखेर घरमै सेवा दिने लक्ष्यसहित सर्वेक्षण थालनी हुन लागेको हो । शारीरिक अशक्तता भएका कारण, दीर्घ रोगका कारण हिँडडुल गर्न नसक्ने तथा स्वास्थ्य उपचारका लागि नियमित स्वास्थ्य संस्थामा जान नसक्ने ज्येष्ठ नागरिकको स्वास्थ्य जाँच गर्न तथा उपचार गर्न घरमै स्वास्थ्यकर्मी पठाउने र  आधारभूत स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्य सहित सर्वेक्षणको काम प्रारम्भ भएको हो । 

सर्वेक्षणमा जाने नर्सिङ् कर्मचारीहरुलाई ५ दिनको अभिमुखीकरण प्रदान गरिसकिएको छ । यस्तै सर्वेक्षणका क्रममा स्वास्थ्य जाँच गर्ने साधन तथा उपकरण प्रदान गरिसकिएको छ । स्वास्थ्य जाँच गर्न प्रदान गरिएका सामग्रीहरुमा ब्लडप्रेसर मोनिटर, ग्लुकोमिटर, डिजिटल थर्मोमिटर पल्स अक्सिमिटर, स्वास्थ्य अभिलेख फाराम, भेटको लगबुक, तथ्याङ्क भर्ने ट्याब्लेट छन् । यस्तै स्टेराइल गज, ब्यान्डेज, एन्टिसेफ्टिक व्यान्डेज, ट्रयाङगुलर व्यान्डेज, क्रेप व्यान्डेज, एन्टिसेफ्टिक वाइप, कपास, मेडिकल टेप, स्टेराइल ड्रेसिङ् सेट दिइएको छ । पाराासिटामोल, आइबुप्रोफेन, एन्टिसेफ्टिक घोल, एन्टासिड ट्याब्लेट, ओरल रिहाइड्रेसन सोलुसन, पोलेको ठाउँमा लगाउने मलम, एलर्जीका लागि एन्टिहिस्टामिन चक्कीसहित औषधि दिइएको छ । 

यो सेवामा औषधि व्यवस्थापन र पोषण परामर्श गरिन्छ । मानसिक र सामाजिक अवस्था बलियो बनाउन घरपरिवार भेटघाट तथा संवाद कार्यक्रम सञ्चालन हुन्छ । दीर्घ रोग नियन्त्रण गर्ने प्रयास गरिन्छ । आकस्मि अवस्थाका लागि छिटो उपचार पाउने रिफरल प्रणाली विकास गरिन्छ । कार्यक्रमका उद्देश्यका विषयमा स्वास्थ्य विभागका प्रमुख दिपक के. सी. ले जानकारी दिनुभयो । यस्तै व्यायाम, मानसिक स्वास्थ्य, सरसफाइका विषयमा परामर्श दिइन्छ । यसरी संकलन गरिएको तथ्याङ्कका आधारमा भविष्यमा ज्येष्ठ नागरिकका जोखिम न्यूनीकरणका बजेट, योजना तथा कार्यक्रम तर्जुमालाई वास्तविक बनाउनेछ । ज्येष्ठ नागरिकप्रति सहयोगी भावनामा वृद्धि हुनेछ । 

कार्यक्रमका फोकल पर्सन अस्पताल नर्सिङ् निरीक्षक कल्पना श्रेष्ठ भन्छिन्- ‘ज्येष्ठ नागरिकलाई सजिलै भेट्न र आवश्यकता अनुसार कुरा गर्ने वातावरणका लागि वडा कार्यालय र महिला स्वास्थ्य स्वयमसेविकासँग समन्वय गर्नेछौँ । उहाँहरुसँग ज्येष्ठ नागरिक रहनु भएको घरमा रहने वा छिमेकीबाट पनि सहयोग आवश्यक हुन्छ । यो सहयोग पाउने आशा गरेका छौँ ।’

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?