मंसिर ९ गते २०८३ --:--:--
मेनु

अर्थमन्त्री वाग्ले पुराना कानुन खारेज गर्ने पक्षमा, आर्थिक गतिविधि सहज बनाउन जोड

मेरो आर्थिक मेरो आर्थिक • मंसिर ९ गते २०८३ १:४४ PM
अर्थमन्त्री वाग्ले पुराना कानुन खारेज गर्ने पक्षमा, आर्थिक गतिविधि सहज बनाउन जोड

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालको आर्थिक तथा व्यावसायिक वातावरणलाई सहज बनाउन समयसापेक्ष नरहेका पुराना कानुन संशोधन तथा खारेज गर्नुपर्ने बताएका छन् ।

मंगलबार प्रतिनिधिसभाको अर्थ समितिमा अर्थसम्बन्धी केही नेपाल ऐनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ माथिको छलफलमा सहभागी हुँदै उनले यस्तो धारणा राखेका हुन् ।

अर्थमन्त्री वाग्लेले नयाँ कानुन निर्माणमा जोड दिने तर पुराना र औचित्य समाप्त भइसकेका कानुन हटाउन ढिलाइ गर्ने सरकारी प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय जटिलता थपिएको बताए ।

उनका अनुसार विभिन्न अध्ययन तथा प्रतिवेदनले पहिचान गरेका १५ वटा ऐन खारेज गर्ने प्रस्ताव अघि सारिएको छ । थप अध्ययनका नाममा नयाँ आयोग गठन गर्नुभन्दा विगतमा प्राप्त सुझावलाई कार्यान्वयनमा लैजानु आवश्यक रहेको उनको भनाइ छ ।

वाग्लेले कानुनी नियमन आवश्यक भए पनि धेरै र एकअर्कासँग बाझिने कानुनी व्यवस्थाले निजी क्षेत्र तथा आर्थिक गतिविधिमा अवरोध सिर्जना गर्न सक्ने बताए । एउटा कानुनले व्यवसायलाई प्रोत्साहन गर्ने र अर्कोले नियन्त्रण गर्ने अवस्था अन्त्य हुनुपर्नेमा उनले जोड दिए ।

उनले विगतको राजनीतिक, सामाजिक तथा आर्थिक परिवेशलाई आधार बनाएर निर्माण गरिएका कानुनहरू वर्तमान अवस्थामा कति सान्दर्भिक छन् भन्ने विषयमा पुनर्विचार गर्नुपर्ने बताए । विशेषगरी आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) को विकाससँगै पुराना कानुनी व्यवस्थालाई समयअनुकूल बनाउनु आवश्यक रहेको उनको धारणा छ ।

अर्थमन्त्रीले टिकट टाँस्नेसम्बन्धी ऐन र कालोबजारीसम्बन्धी पुराना कानुनी व्यवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गर्दै उपभोक्ता संरक्षणका लागि नयाँ कानुन लागू भइसकेको अवस्थामा पुराना प्रावधानको औचित्य पुनः मूल्यांकन गर्नुपर्ने उल्लेख गरे ।

उनले असान्दर्भिक कानुन हटाउँदै आवश्यक व्यवस्थालाई आधुनिक कानुनी संरचनामा समेट्न सके आर्थिक गतिविधि विस्तार, लगानी प्रवर्द्धन र व्यावसायिक वातावरण सुधारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?