काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) माथि लगाएको प्रशासनिक तथा आर्थिक प्रतिबन्ध फुकुवा गरेको छ। राखेपको यो निर्णयसँगै एन्फालाई नियमित प्रशासनिक तथा आर्थिक गतिविधि सञ्चालन गर्ने बाटो खुलेको छ।
राखेपको कार्यकारी समितिले बिहीबार (मंसिर ३ गते) एन्फामाथि यसअघि विभिन्न समयमा लगाइएका निलम्बन तथा प्रतिबन्ध हटाउने निर्णय गरेको हो।
राखेपका सदस्यसचिव रामचरित्र मेहताको हस्ताक्षर रहेको पत्रमार्फत बिहीबार नै एन्फालाई निर्णयबारे औपचारिक जानकारी गराइएको छ। पत्रअनुसार प्रशासनिक र आर्थिक प्रतिबन्धसमेत निर्णय भएको मितिदेखि लागू हुने गरी फुकुवा गरिएको छ।
एन्फाले यसअघि गत चैत २३ गते पत्राचार गर्दै आफूहरूमाथि लगाइएको निलम्बन फुकुवा गर्न राखेपसँग अनुरोध गरेको थियो।
राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ को दफा २९ को उपदफा ३ अनुसार निलम्बन फुकुवा गर्ने निर्णय गरिएको राखेपले जनाएको छ।
निर्णयबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सम्बन्धित मन्त्रीको सचिवालय, अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र एसियाली फुटबल महासंघ (एएफसी) लाई समेत जानकारी गराइएको छ।
फिफाको प्रतिबन्ध भने अझै महत्वपूर्ण विषय
राखेपले प्रशासनिक तथा आर्थिक प्रतिबन्ध हटाए पनि एन्फामाथि फिफाले लगाएको अन्तर्राष्ट्रिय निलम्बन स्वतः फुकुवा भएको भने होइन। फिफाले यसअघि तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै एन्फालाई अनिश्चितकालका लागि निलम्बन गरेको थियो।
त्यसैले नेपाली राष्ट्रिय टोली र क्लबहरूको अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता सुनिश्चित गर्न फिफाको निर्णयसमेत आवश्यक हुनेछ।
राखेपको पछिल्लो निर्णयले एन्फा र सरकारी खेलकुद निकायबीच देखिएको विवाद समाधानतर्फ सकारात्मक वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ।













