काठमाडौं । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङसँगै नेपालले एसीसी प्रिमियर कपमा विजयी सुरुवात गरेको छ।
मलेसियाको वाईएसडी–यूकेएम ओभलमा सोमबार भएको खेलमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गरेको हो। बहराइनले दिएको ८८ रनको सामान्य लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा अर्जुन कुमालले अविजित ३६ रन तथा रोहित पौडेलले अविजित १९ रन बनाए। आसिफ शेखले १८ र देव खनालले १० रनको योगदान दिए।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बहराइन नेपाली बलरसामु टिक्न नसक्दा ३६.२ ओभरमा ८७ रनमै अलआउट भएको थियो। नेपालका कप्तान सन्दीप लामिछानेले १० ओभरमा १४ रन खर्चेर ५ विकेट लिए। उनले आफ्नो स्पेलमा ४ मेडन ओभरसमेत फ्याँके। ललित राजवंशीले ३ तथा करण केसीले २ विकेट लिए।
बहराइनका लागि फियाज अहमदले सर्वाधिक १५ रन बनाए। मुहम्मद वासिमले १३ तथा अली दाउदले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। सन्दीपले आफ्नो स्पेलको सुरुआतमै प्रभाव जमाउँदै पहिलो बलमै विकेट लिए। त्यसपछि उनले थप चार विकेट लिँदै पाँच विकेट पूरा गरे। अब नेपालले एसीसी प्रिमियर कपको दोस्रो खेलमा बिहीबार आयोजक मलेसियासँग प्रतिस्पर्धा गर्नेछ।











