वैशाख १३ गते २०८३ --:--:--
मेनु

नेपालको दमदार सुरुवात: युएईलाई ३७ रनले हराउँदै लिग–२ मा महत्वपूर्ण जित

मेरो आर्थिक मेरो आर्थिक वैशाख १३ गते २०८३ ६:३० AM
नेपालको दमदार सुरुवात: युएईलाई ३७ रनले हराउँदै लिग–२ मा महत्वपूर्ण जित

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु सिरिजमा नेपालले युएई र ओमानविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ। सिरिजको पहिलो खेलमै नेपालले युएईलाई ३७ रनले पराजित गर्दै सकारात्मक सुरुवात गरेको छ।

यो खेलअघि नेपालले २० खेलबाट केवल ५ जितसहित १२ अंक जोडेको थियो र आठ टोलीमध्ये पुछारबाट दोस्रो स्थानमा रहेको थियो। त्यसैले यो घरेलु सिरिज नेपालका लागि निकै महत्वपूर्ण मानिएको छ, जहाँ चारै खेल जित्ने लक्ष्य जस्तै बनेको छ।

खेलको सुरुवात भने नेपालको पक्षमा सहज थिएन। टस हारेर पहिले ब्याटिङ गरेको नेपाल ४८ ओभर २ बलमा २०० रनमै समेटियो, जुन एकदिवसीय क्रिकेटका लागि सामान्य लक्ष्य मानिन्छ।

नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट ७५ रन बनाए। ओपनर कुशल भुर्तेलले २४ र करण केसीले २२ रन जोड्दा अन्य ब्याटरहरूले खासै योगदान दिन सकेनन्।

तर बलिङतर्फ नेपालले शानदार प्रदर्शन गर्‍यो। करण केसीले ४ विकेट लिँदै विपक्षीमाथि सुरुदेखि नै दबाब बनाए। सोमपाल कामी र सन्दीप लामिछानेले समान २–२ विकेट लिए भने दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले १–१ विकेट लिए।

युएईका हर्पित सिंह भाटियाले ३९, कप्तान मोहम्मद वासिमले ३४ र अक्षदीप नाथले ३० रन बनाए पनि अन्य ब्याटर नेपाली बलिङ आक्रमण टिक्न सकेनन्।

लगातार चार हारपछि नेपालले यो जित हासिल गरेको हो। पहिलो खेल जितेपछि अब नेपाल थप आत्मविश्वासका साथ ओमानविरुद्ध उत्रिनेछ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?