काठमाडौँ । नेपाल टेलिकमले दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ‘दसैँ तिहार अफर २०८३’ ल्याउने भएको छ। कम्पनीको नयाँ योजनाअन्तर्गत एफटीटीएच इन्टरनेट जडानमा छुट, वार्षिक इन्टरनेट प्याकेजमा थप एक महिनाको सुविधा तथा मोबाइलमा सहुलियत दरका डेटा र भ्वाइस प्याकेज उपलब्ध हुनेछन्।
नेपाल टेलिकमका अनुसार असोज २५ देखि कात्तिक ३० गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकले ५०० रुपैयाँको जडान शुल्क तिर्नुपर्ने छैन। त्यस्तै, १००, १५० र २०० एमबीपीएसका नयाँ वार्षिक प्याकेज खरिद गर्ने ग्राहकले १२ महिनाको शुल्कमा थप एक महिना गरी कुल १३ महिनाको सेवा पाउनेछन्। यी प्याकेजसँग उपलब्ध बोनस मोबाइल डेटा पनि १३ महिनासम्म प्रयोग गर्न सकिनेछ। भर्चुअल सेट–टप बक्ससहितको प्याकेजमा भने यसअघि नै १ हजार रुपैयाँ छुटको व्यवस्था गरिएको छ।
कम्पनीले जीएसएम प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि विभिन्न डेटा प्याकेज पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत ४९९ रुपैयाँमा ५ जीबी दैनिक डेटा सुविधासहितको ‘फेस्टिभल अनलिमिटेड’ र ६९९ रुपैयाँमा १० जीबी दैनिक डेटा सुविधासहितको ‘फेस्टिभल अनलिमिटेड प्रिमियम’ प्याकेज उपलब्ध हुनेछन्।
फेस्टिभल अनलिमिटेड प्याकेजमा दैनिक ५ जीबी डेटा सकिएपछि बाँकी अवधिमा २ एमबीपीएसको गतिमा इन्टरनेट चलाउन सकिनेछ। त्यसैगरी, प्रिमियम प्याकेजमा दैनिक १० जीबी डेटा खपत भएपछि बाँकी समय ३ एमबीपीएसको गतिमा अनलिमिटेड डेटा प्रयोग गर्न पाइनेछ।
मोबाइल प्रयोगकर्ताका लागि टेलिकमले भ्वाइस तथा एसएमएस सेवामा समेत छुटको व्यवस्था गरेको छ। २५० रुपैयाँमा १ हजार मिनेट अल–नेट कल गर्न मिल्ने ‘जोयफुल मिनेट्स’ प्याकेज उपलब्ध हुनेछ। त्यस्तै, ९९ रुपैयाँमा १ हजार अन–नेट एसएमएस पठाउन सकिने ‘फेस्टिभ म्यासेज प्याकेज’ पनि ल्याइएको छ।
यी मोबाइल प्याकेजको समयावधि ३० दिन रहने कम्पनीले जनाएको छ।
नेपाल टेलिकमका मोबाइल प्याकेजहरू २०८३ असोज ३० देखि कात्तिक ३० गतेसम्म खरिद गर्न सकिनेछ। ग्राहकले आफ्नो मोबाइलबाट *1415*11# डायल गरेर वा नेपाल टेलिकम एपमार्फत आफूलाई आवश्यक प्याकेज छनोट गरी सेवा लिन सक्नेछन्।
टेलिकमका प्रवक्ता डा. कमल लामिछानेका अनुसार चाडपर्वका बेला परिवार, आफन्त तथा साथीभाइसँग सहज सम्पर्क कायम राख्न र डिजिटल सेवाको प्रयोगलाई प्रोत्साहन गर्न यस्ता योजनाले सहयोग पुर्याउने अपेक्षा गरिएको छ।











