काठमाडौं । देशभर हाल विभिन्न मौसमी प्रणालीको प्रभाव देखिएकाले मौसममा बदलीको अवस्था कायम रहेको छ।
मौसमविद्हरूका अनुसार उपल्लो वायुमण्डलमा सक्रिय पश्चिमी न्यून चापीय प्रणाली, स्थानीय वायु तथा नेपाल आसपास रहेको न्यून चापीय क्षेत्रको संयुक्त प्रभावका कारण देशका अधिकांश भागमा मौसम प्रभावित भएको हो।
हाल कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका हिमाली र पहाडी क्षेत्रमा सामान्यदेखि आंशिक बदली रहेको छ भने तराईका अधिकांश क्षेत्रमा आंशिक बदली देखिएको छ। केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
सोमबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने अनुमान गरिएको छ। विशेषगरी हिमाली तथा पहाडी भूभागमा बादलको प्रभाव बढी रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली कायम रहने सम्भावना छ।
कर्णाली, सुदूरपश्चिम, कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै उच्च हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको छ।
सम्बन्धित निकायले वर्षा, चट्याङ तथा खराब मौसमका कारण हुन सक्ने सम्भावित जोखिमप्रति सतर्क रहन सर्वसाधारणलाई आग्रह गरेको छ।











