काठमाडौं । सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना तथा ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सहकारीका संस्थापक ४५ वर्षीय शिवकुमार विश्वकर्मा (लामिछाने) र ३३ वर्षीया अस्मिता भण्डारी रहेका छन्। विश्वकर्मा धरान उपमहानगरपालिका–१२ का स्थायी बासिन्दा हुन् भने हाल काठमाडौं महानगरपालिका–२२ मा बस्दै आएका थिए। भण्डारी धरान उपमहानगरपालिका–१५ निवासी हुन्।
सुनसरी प्रहरीका अनुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई नेपाल–भारत सीमावर्ती क्षेत्रबाट नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेकी भण्डारी सहकारीको ऋण उपसमिति सदस्य, ग्राहक सेवा कर्मचारी तथा बराह ग्रुपको कोशी प्रदेश सचिवालयकी सदस्यसमेत हुन्।
यस प्रकरणमा सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। उक्त मुद्दामा १७ हजार १० जना बचतकर्ता पीडित रहेको प्रहरीले जनाएको छ। शङ्कर थापासहित ४ हजार २४३ जनाले दिएको जाहेरीका आधारमा उनीहरूलाई अनुसन्धानका लागि पक्राउ गरिएको हो।
प्रहरीका अनुसार यस प्रकरणमा १० अर्ब ७३ करोड ४३ लाख ४७ हजार ९१३ रुपैयाँ बिगो दाबी गरिएको छ।
धरानमा मुख्य कार्यालय रहेको बराह सहकारीसँग सम्बन्धित नेपालका विभिन्न स्थानमा ३० वटा र विदेशमा चारवटा कम्पनी स्थापना गरिएको बताइएको छ। ती संस्थामार्फत विभिन्न समयमा बचतकर्ताले जम्मा गरेको रकम अपचलन तथा ठगी गरेको आरोप लागेको छ।
पक्राउ परेका दुवै जनामाथि जिल्ला प्रहरी कार्यालय सुनसरीले थप अनुसन्धान अघि बढाएको जनाएको छ।













