काठमाडौं । प्रधानमन्त्री बालेन शाहले देशका विभिन्न क्षेत्रमा देखिएको बाढी, पहिरो, अविरल वर्षा र हावाहुरीका कारण विपद्को जोखिम अझै कायम रहेकाले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
आइतबार साँझ सामाजिक सञ्जालमार्फत देशवासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले विपद्को संवेदनशील अवस्थामा भ्रामक सूचना फैलाउने, पीडितको गोपनीयता उल्लंघन गर्ने तथा कालोबजारी गर्नेहरूमाथि सरकारले निगरानी बढाएको बताएका हुन्।
प्रधानमन्त्रीका अनुसार असोज ८ गतेदेखि चट्याङ, बाढी, पहिरो र वर्षाजन्य घटनामा परी म्याग्दी, डोल्पा, धनुषा, पाल्पा, बागलुङ, लमजुङ, रुकुम पश्चिम, काभ्रे, धादिङ, मकवानपुर र सुर्खेतलगायत जिल्लामा २१ जनाको मृत्यु भएको छ भने ५ जना अझै बेपत्ता छन्। विपद्मा घाइते भएका ५ जनाको उपचार खर्च सरकारले निःशुल्क बेहोर्ने उनले जानकारी दिए।
सरकारका अनुसार हालसम्म देशभर ४३९ वटा मनसुनजन्य विपद्का घटना दर्ता भएका छन्। मनाङमा हिमपहिरोमा परेकासहित बेपत्ता नागरिकको खोजी तथा बाढीमा फसेकाहरूको उद्धारका लागि सुरक्षाकर्मी परिचालन गरिएको छ।
१,०१३ मेगावाटभन्दा बढी विद्युत् आपूर्ति प्रभावित
विपद्का कारण ऊर्जा क्षेत्रमा समेत ठूलो असर परेको प्रधानमन्त्री शाहले बताएका छन्। कालीगण्डकी, मर्स्याङ्दी र सेती–मादी करिडोरबाट राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको १,०१३.२ मेगावाट विद्युत् आपूर्ति प्रभावित भएको छ।
प्रसारण टावरमा क्षति पुग्दा ३१८ मेगावाट क्षमताका आयोजना पूर्ण रूपमा बन्द भएका छन्। सम्भावित जोखिम कम गर्न थप ६९५.२ मेगावाट विद्युत् उत्पादन सुरक्षात्मक रूपमा रोकिएको बताइएको छ। विद्युत् सेवा पुनःस्थापनाका लागि प्राविधिक टोली परिचालन गरिएको छ।
राजमार्गदेखि स्थानीय सडकसम्म अवरुद्ध
नारायणी नदीमा आएको बाढीले क्रुजसिप बगाएर पुलमा अड्किएपछि सुरक्षाका लागि पूर्व–पश्चिम राजमार्गको केही खण्डमा आवागमन रोकिएको छ। काठमाडौं उपत्यका जोड्ने पृथ्वी राजमार्ग, बीपी राजमार्ग र कान्ति लोकपथसहित विभिन्न जिल्लाका दर्जनौँ सडक प्रभावित भएका छन्।
कालीगण्डकीमा पक्की पुल बगेको तथा भोटेकोशी–त्रिशूली नदी किनारको सडकमा समेत पुनः क्षति पुगेको छ। क्षतिग्रस्त सडकहरू मर्मत तथा आवागमन सहज बनाउन सम्बन्धित निकाय परिचालन गरिएको प्रधानमन्त्रीले बताएका छन्।
महाकाली नदीमा पानीको बहाव बढेपछि कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने नेपाल–भारत आवागमनसमेत प्रभावित भएको छ। बनवासा पुलमा दुवैतर्फको सवारी आवागमन रोकिएको जनाइएको छ।
सेती, नारायणी र कमला नदी तथा कुलेखानी क्षेत्रमा पानीको बहाव उच्च रहेकाले जोखिम न्यूनीकरणका लागि सतर्कता अपनाइएको छ। वर्षा र हावाहुरीका कारण किसानको धान तथा तरकारी बालीमा समेत उल्लेख्य क्षति पुगेको छ।
७७ वटै जिल्ला कमान्ड पोस्ट सक्रिय
मौसम पूर्वानुमानका आधारमा सरकारले रात्रीकालीन यातायात र विद्यालय बन्द गर्नुका साथै ७७ वटै जिल्लाका कमान्ड पोस्ट सक्रिय बनाएको प्रधानमन्त्री शाहले बताए। यसबाट हिमाली क्षेत्रमा रहेका पदयात्री तथा विद्यार्थीलाई सुरक्षित राख्न सहयोग पुगेको उनको भनाइ छ।
विपद्बाट प्रभावित परिवारका लागि स्थानीय तहसँग समन्वय गरी अस्थायी बसोबासको व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए।
प्रधानमन्त्री शाहले विपद्को जोखिम अझै नटरेकाले अत्यावश्यक कामबाहेक यात्रा नगर्न नागरिकलाई आग्रह गरेका छन्। संकट वा आपत्कालीन अवस्था आइपरेमा निःशुल्क नम्बर १२३४ मा सम्पर्क गर्न उनले अपिल गरेका छन्।












