काठमाडौं। असोज ९ गते शुक्रबारदेखि ११ गते आइतबारसम्म देशका विभिन्न क्षेत्रमा भारीदेखि अति भारी वर्षा हुन सक्ने पूर्वानुमानपछि प्रधानमन्त्री बालेन्द्र शाहले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेका छन्।
प्रधानमन्त्री शाहले बिहीबार सामाजिक सञ्जालमार्फत जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान सार्वजनिक गर्दै गण्डकी र लुम्बिनी प्रदेशका केही क्षेत्रमा अति भारीसम्म वर्षा हुन सक्ने जानकारी दिएका छन्। कोशी, बागमती, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको उनले बताएका छन्।
वर्षाका कारण मेघगर्जन, चट्याङ र हावाहुरीको जोखिमसमेत रहेकाले बाढी, पहिरो, गेग्रान बहाव र डुबान हुन सक्ने चेतावनी दिइएको छ। यसले सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकाले जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउन आग्रह गरिएको छ।
नदी तथा खोलाको आसपास, पहिरोको जोखिम रहेका बस्ती र जोखिमयुक्त सडकखण्डमा अनावश्यक आवतजावत नगर्न भनिएको छ। रातिको समयमा राजमार्गमा यात्रा नगर्न तथा अत्यावश्यकबाहेक लामो दूरीको यात्रा स्थगित गर्नसमेत अनुरोध गरिएको छ।
राजमार्गमा सुरक्षा जाँच चौकीमार्फत सडकको अवस्था सुरक्षित रहेको पुष्टि भएपछि मात्रै सवारी सञ्चालन गर्ने गरी ‘रोक, पर्ख र हेर’ नीति लागू गरिएको जनाइएको छ। सम्भावित बाढी, पहिरो तथा सडक कटानका कारण अवरोध आए तत्काल हटाउन एक्स्काभेटर, लोडर र डोजरजस्ता उपकरण जोखिमयुक्त स्थान नजिकै तयारी अवस्थामा राखिएको बताइएको छ।
सडक डिभिजन कार्यालयलाई चौबीसै घण्टा सक्रिय रहन तथा सडकको अवस्था खुला वा अवरुद्ध भएको जानकारी नियमित रूपमा सार्वजनिक गर्न निर्देशन दिइएको छ।
हिमाली तथा पहाडी क्षेत्रमा रहेका पर्यटक, ट्रेकिङ टोली र पर्वतारोहीको सुरक्षालाई समेत प्राथमिकतामा राख्न भनिएको छ। आवश्यक अवस्था आए उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न समन्वय गर्न तथा होटल व्यवसायी र स्थानीयवासीलाई सुरक्षित बास र आवश्यक सहयोग उपलब्ध गराउन आग्रह गरिएको छ।
मौसम प्रतिकूल हुँदा आन्तरिक हवाई उडानमा सुरक्षा मापदण्ड कडाइका साथ पालना गर्न र आवश्यक परे उद्धार उडानलाई प्राथमिकता दिन निर्देशन दिइएको छ।
देशभरका ७५३ स्थानीय तहलाई स्थानीय विपद् व्यवस्थापन समितिको बैठक गरी पूर्वतयारी गर्न भनिएको छ। जोखिमयुक्त बस्तीमा रहेका नागरिकलाई अवस्था हेरी तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने व्यवस्था मिलाउन पनि निर्देशन दिइएको छ।
विद्यालयमा विद्यार्थी, शिक्षक तथा कर्मचारीको सुरक्षालाई ध्यानमा राख्दै स्थानीय तहसँग समन्वय गरी आवश्यक परे असोज ९ गते पठनपाठन रोक्ने व्यवस्था गर्न तथा परीक्षासम्बन्धी निर्णय सम्बन्धित निकायबाट लिन भनिएको छ।
अभिभावकलाई बालबालिकालाई नदी, खोला, पोखरी तथा पहिरोको जोखिम भएका क्षेत्रमा जान नदिन विशेष आग्रह गरिएको छ। अस्पताल तथा स्वास्थ्य संस्थालाई आवश्यक जनशक्ति र औषधिसहित तयारी अवस्थामा राख्दै आकस्मिक सेवा निरन्तर सञ्चालन गर्न र स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र सक्रिय राख्न निर्देशन दिइएको छ।
सम्भावित विपद्का कारण आपूर्ति व्यवस्था प्रभावित हुन सक्ने अवस्थालाई ध्यानमा राख्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनीका गोदाममा पर्याप्त मौज्दात कायम राख्ने व्यवस्था गरिएको जनाइएको छ। राजमार्ग अवरुद्ध भए वैकल्पिक मार्ग प्रयोग गरी अत्यावश्यक वस्तुको आपूर्ति निरन्तरता दिने तयारीसमेत गरिएको छ।
मौसमको अवस्थालाई बहाना बनाएर कृत्रिम अभाव सिर्जना गर्ने, कालोबजारी गर्ने वा अनुचित मूल्य बढाउने गतिविधिमाथि बजार अनुगमन गरी कारबाही गर्न पनि निर्देशन दिइएको छ।
सरकारले नागरिकलाई मौसम तथा विपद्सम्बन्धी जानकारीका लागि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र जल तथा मौसम विज्ञान विभागका आधिकारिक सूचनालाई आधार बनाउन आग्रह गरेको छ। आपत्कालीन अवस्था आए जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकाय वा सम्बन्धित सरकारी हेल्पलाइनमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ।












