असाेज २१ गते २०८३ --:--:--
मेनु

भोटेकोशी बाढीपीडित परिवारलाई रेडक्रसले प्रतिपरिवार १ लाख रुपैयाँ दिने

मेरो आर्थिक मेरो आर्थिक • असाेज २१ गते २०८३ १:०२ PM
भोटेकोशी बाढीपीडित परिवारलाई रेडक्रसले प्रतिपरिवार १ लाख रुपैयाँ दिने

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले रसुवा–भोटेकोशी बाढीबाट प्रभावित परिवारलाई प्रतिपरिवार १ लाख रुपैयाँका दरले नगद सहायता उपलब्ध गराउने भएको छ । बाढी प्रभावित परिवारको तत्कालीन आवश्यकता पूरा गर्नुका साथै पुनर्लाभ र पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो सहायता दिन लागिएको हो ।

नगद सहायता वितरणका लागि नेपाल रेडक्रस सोसाइटी र महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयबीच मंगलबार सम्झौता भएको छ । मन्त्री सीता बादीको उपस्थितिमा मन्त्रालयका कार्यवाहक सचिव चक्रबहादुर बुढा र नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष डा. विशालकुमार भण्डारीले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

कार्यक्रममा नेपाल रेडक्रसका महामन्त्री ऋषिरमण खनाल तथा रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासङ्घ (आईएफआरसी) नेपाल प्रमुख डेभिड फिसरसहितका अधिकारीहरूको उपस्थिति थियो ।

रेडक्रसका अनुसार बाढी प्रभावित परिवारको विवरण राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त भएपछि आवश्यक प्रमाणीकरणका आधारमा लाभग्राही छनोट गरिनेछ । प्रारम्भिक अनुमानअनुसार करिब ६ हजार परिवार बाढीबाट प्रभावित भएका छन् । छनोट भएका लाभग्राहीको बैंक खातामा सहायता रकम सिधै जम्मा गरिनेछ ।

प्राप्त रकम प्रभावित परिवारले आफ्नो प्राथमिकताअनुसार खाद्यान्न, कपडा, स्वास्थ्य तथा सरसफाइ, घरायसी सामग्री, यातायात, सञ्चार तथा जीविकोपार्जनका आवश्यकतामा खर्च गर्न सक्नेछन् ।

नगद सहायता वितरणमा महिला नेतृत्व भएका परिवार, अपाङ्गता भएका व्यक्ति, विशेष हेरचाह आवश्यक पर्ने बालबालिका, ज्येष्ठ नागरिक, सीमान्तकृत समुदाय तथा लैङ्गिक र यौनिक अल्पसङ्ख्यकसहित विशेष जोखिममा रहेका परिवारलाई प्राथमिकता दिइने रेडक्रसले जनाएको छ ।

सम्झौताअनुसार मन्त्रालयले नीतिगत निर्देशन, कार्यक्रमको अनुगमन र समन्वय गर्नेछ । स्थानीय तहले लाभग्राही पहिचान तथा प्रमाणीकरणमा सहयोग गर्नेछ भने नेपाल रेडक्रसले नगद तथा भौचर सहायता वितरण, समुदायसँग समन्वय, अनुगमन र जवाफदेहितासम्बन्धी काम गर्नेछ ।

बाढी प्रभावित क्षेत्रमा मानवीय सहायता जारी

नेपाल रेडक्रसले रसुवा–भोटेकोशी क्षेत्रमा गत भदौ १० गते आएको बाढीपछि सुरु गरेको मानवीय सहायता तथा उद्धारसम्बन्धी गतिविधि निरन्तर सञ्चालन गरिरहेको जनाएको छ ।

महामन्त्री खनालका अनुसार बाढीपछि प्रभावित परिवारको तत्कालीन आवश्यकता सम्बोधन गर्न विभिन्न सरोकारवाला निकायसँग समन्वय गरी सहायता परिचालन भइरहेको छ ।

आईएफआरसी नेपाल प्रमुख डेभिड फिसरले बाढी प्रतिकार्यमा नेपाल रेडक्रसका स्वयंसेवकले गरेको काम प्रशंसनीय रहेको बताए । उनले बाढी प्रभावितका लागि आईएफआरसीले गरेको सहयोग अपिलअनुसार आर्थिक स्रोत जुटिरहेको र प्रभावित क्षेत्रमा सहायता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

त्यस्तै, अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) नेपाल प्रमुख सन्देश श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा शव व्यवस्थापन तथा बेपत्ता व्यक्तिका परिवारलाई खोज तथा सहयोगका कार्यमा नेपाल रेडक्रससँग सहकार्य भइरहेको बताए ।

रेडक्रसले आगामी तीन महिनाका लागि तत्काल गर्नुपर्ने कामको योजना समेत तयार गरेको छ । प्रभावित क्षेत्रमा बहुउद्देश्यीय नगद सहायता, आवास, खानेपानी तथा सरसफाइ, मानसिक स्वास्थ्य, संरक्षण, सामुदायिक सहभागिता, लैङ्गिक समानता तथा समावेशीकरणलगायतका क्षेत्रमा सहायता जारी रहने जनाइएको छ ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?