असाेज १० गते २०८३ --:--:--
मेनु

देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

मेरो आर्थिक मेरो आर्थिक • असाेज १० गते २०८३ ७:०० AM
देशभर वर्षाको सम्भावना, केही प्रदेशमा भारीदेखि अति भारी वर्षाको चेतावनी

काठमाडौं । नेपालमा हाल मनसुनी वायुसँगै पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। भारतको उत्तर महाराष्ट्र र छत्तिसगढ आसपास केन्द्रित बलियो न्यूनचापीय प्रणाली उत्तर–पश्चिमतर्फ सर्ने क्रममा रहेको र आगामी १२ घण्टामा क्रमशः कमजोर हुँदै जाने अनुमान गरिएको छ।

उक्त मौसमी प्रणालीको प्रभावका कारण अहिले देशका अधिकांश भूभागमा आकाशमा बादल लागेको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा भइरहेको छ। बागमती प्रदेशका केही तथा कोशी र मधेस प्रदेशका थोरै स्थानमा पनि हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

दिउँसोको मौसम

आज दिउँसो देशभरको मौसम मुख्यतः बदली रहने अनुमान छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा धेरै स्थानमा तथा कोशी र बागमती प्रदेशका हिमाली–पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ।

लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा अधिकांश स्थानमा तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने देखिएको छ। त्यस्तै, कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

मधेस तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनुपर्ने देखिन्छ।

रातिको मौसम

आज राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बदली रहनेछ। कोशी र मधेस प्रदेशमा भने सामान्यतया बादल लाग्ने पूर्वानुमान गरिएको छ।

राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्नेछ। बागमती प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका धेरै स्थानमा र कोशी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा पनि वर्षाको सम्भावना छ।

गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका अधिकांश स्थानमा तथा बागमती प्रदेशका तराई भूभागका धेरै स्थानमा वर्षा हुनसक्नेछ। मधेस र कोशी प्रदेशका तराई क्षेत्रमा भने केही स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।

रातिको समयमा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा मधेस प्रदेशका एक–दुई स्थानमा भारीदेखि धेरै भारी वर्षा हुनसक्ने महाशाखाको अनुमान छ।

यसैगरी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा अति भारी वर्षा हुनसक्ने सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा केही स्थानमा हावाहुरीसमेत चल्न सक्ने पूर्वानुमान गरिएको छ।

वर्षासँगै चट्याङ, हावाहुरी तथा भारी वर्षाको सम्भावना रहेकाले सम्बन्धित क्षेत्रका नागरिकलाई आवश्यक सावधानी अपनाउन मौसमविद्हरूले सुझाव दिएका छन्।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?