हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ। यसको असरका कारण अहिले हिमाली र पहाडी भूभागमा आंशिक बदली रहेको छ भने तराई क्षेत्रमा मौसम प्रायः सफा देखिएको छ।
आज दिउँसो कोशी प्रदेश सहित अन्य हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ। तराईका धेरै स्थानमा आंशिक बदली रहने अनुमान गरिएको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानहरूमा, बागमती प्रदेश र गण्डकी प्रदेश का पहाडी तथा हिमाली भूभाग, साथै लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश का हिमाली क्षेत्रमा चट्याङसहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने सम्भावना छ। कोशी प्रदेशको तराईका केही स्थानमा पनि वर्षा हुन सक्ने बताइएको छ।
त्यस्तै मधेस प्रदेश लगायत बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका तराई क्षेत्र, उपत्यका तथा खोँचहरूमा गर्मी बढ्ने देखिएको छ। विशेषगरी लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ।
आज राति हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ भने पहाडी क्षेत्रमा आंशिक बदली र तराईमा मौसम प्रायः सफा रहनेछ। कोशी र गण्डकी प्रदेशका हिमाली भागका केही स्थानहरूमा हल्का वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।













