विश्व शान्तिका प्रतीक मानिने सिद्धार्थ गौतम बुद्धको २५६९औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमका साथ देशभर मनाइँदैछ। वैशाख शुक्ल पूर्णिमाका दिन पर्ने यस पर्वलाई बौद्ध धर्मावलम्बीहरूले विशेष श्रद्धा र भक्तिपूर्वक मनाउने गर्छन्।
यही दिन बुद्धको जन्म, ज्ञान प्राप्ति र महापरिनिर्वाण परेको विश्वासका कारण बुद्ध जयन्तीको विशेष महत्व रहेको छ। मानव जातिलाई अहिंसा, करुणा र मैत्रीको मार्ग देखाउने बुद्धका शिक्षाहरूलाई स्मरण गर्दै शान्तिको कामनासहित यो पर्व मनाउने परम्परा रहँदै आएको छ।
आजको दिन देशभरका गुम्बा, विहार र चैत्यहरूमा पूजा, प्रवचन तथा धार्मिक अनुष्ठानहरू सञ्चालन भइरहेका छन्। बौद्ध गुरु तथा लामाहरूको उपस्थितिमा परम्परागत विधिअनुसार कार्यक्रम सम्पन्न गरिन्छ। साथै, सर्वसाधारणलाई साँझ घरघरमा दीप प्रज्वलन गरी पर्व मनाउन आग्रह गरिएको छ।
विशेषगरी लुम्बिनी, स्वयम्भूनाथ स्तूप र बौद्धनाथ स्तूप लगायतका धार्मिक स्थलहरूमा विविध कार्यक्रम आयोजना गरिँदैछ।
इतिहास अनुसार इसापूर्व ५६३ मा रुपन्देही जिल्लाको लुम्बिनी क्षेत्रमा राजा शुद्धोधन र रानी मायादेवीका पुत्रका रूपमा सिद्धार्थ गौतमको जन्म भएको थियो। राजपरिवारमा जन्मिए पनि मानव जीवनका दुःख देखेर विचलित बनेका उनले २९ वर्षको उमेरमा दरबार त्याग गरी सत्यको खोजीमा लागेका थिए।













