देशभर आज २० औँ लोकतन्त्र दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। विसं २०६२/६३ को जनआन्दोलनको सफलताबाट स्थापित लोकतान्त्रिक व्यवस्थाको सम्झनामा हरेक वर्ष यो दिवस मनाउने गरिन्छ। विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्र शाह ले आन्दोलनरत दलहरूको मागअनुसार विघटित संसद् पुनर्स्थापना गरेपछि यो दिन ऐतिहासिक बनेको हो। त्यसैको सम्झनामा विसं २०६४ देखि लोकतन्त्र दिवस मनाउने परम्परा सुरु गरिएको हो।
विसं २०५९ मा संसद् विघटनपछि देशमा सुरु भएको राजनीतिक अस्थिरता र राजाको प्रत्यक्ष शासन वैशाख ११ को घोषणासँगै अन्त्य भएको थियो। त्यसअघि राजा ज्ञानेन्द्रले विभिन्न चरणमा लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा लाई प्रधानमन्त्री नियुक्त तथा बर्खास्त गर्दै शासन सञ्चालन गरेका थिए। अन्ततः २०६१ माघ १९ मा उनले सम्पूर्ण शासन आफ्नो हातमा लिएका थिए।
राजाको उक्त कदमविरुद्ध आन्दोलन चर्किंदै जाँदा सात दल र तत्कालीन विद्रोही पक्ष नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बीच २०६२ मंसिरमा भएको १२ बुँदे सहमतिले आन्दोलनलाई निर्णायक दिशा दिएको थियो। त्यसपछि गिरिजाप्रसाद कोइराला को नेतृत्वमा सुरु भएको आन्दोलन क्रमशः देशव्यापी बन्यो। २०६३ को सुरुवातसँगै लाखौँ नागरिक सडकमा उत्रिएपछि राजधानी क्षेत्रसहित देशभर दबाब बढ्यो र अन्ततः राजालाई जनताको माग स्वीकार गर्न बाध्य बनायो।
वैशाख ११ गते संसद् पुनर्स्थापनाको घोषणा भएसँगै जनआन्दोलनले सफलता प्राप्त गर्यो, जसलाई नेपालको राजनीतिक परिवर्तनको महत्वपूर्ण मोडका रूपमा लिइन्छ। त्यसपछि २०६३ जेठ ४ मा बसेको संसद् बैठकले राजसंस्थाको अधिकार सीमित गर्दै दरबारको भूमिका निष्क्रिय बनाएको थियो। यो निर्णयलाई नेपालको राजनीतिक इतिहासमा महत्वपूर्ण उपलब्धिका रूपमा हेर्ने गरिन्छ।
यही प्रक्रियाको निरन्तरतामा २०६४ मा पहिलो संविधानसभा निर्वाचन सम्पन्न भयो र २०६५ जेठ १५ मा बसेको पहिलो बैठकले शताब्दीयौँ पुरानो राजसंस्थाको अन्त्य गर्दै नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो। त्यसपछि दोस्रो संविधानसभाबाट २०७२ असोज ३ मा नयाँ संविधान जारी भएसँगै देशमा सङ्घीय प्रणाली कार्यान्वयनमा आएको छ।













