काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले काठमाडौं उपत्यकाका सुकुमवासीहरूको समस्या दीर्घकालीन रूपमा समाधान गर्ने सरकारको प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिने क्रममा उनले वास्तविक सुकुमवासीहरूको पहिचान गरी उचित व्यवस्थापन र बसोबासको व्यवस्था गरिने बताए।
प्रधानमन्त्री साहका अनुसार सुकुमवासी समस्या समाधानका लागि सम्बन्धित निकायहरू सक्रिय रूपमा काम गरिरहेका छन्। उनले वास्तविक भूमिहीन नागरिकलाई राज्यले आवश्यक सहयोग र जग्गा व्यवस्थापनको व्यवस्था गर्नुपर्ने धारणा दोहोर्याए।
उनले विगतका दशकौँदेखि समाधान हुन नसकेको समस्या तत्कालै टुंगिने अपेक्षा नगर्न आग्रह गर्दै स्थायी समाधानका लागि आवश्यक प्रक्रिया पूरा गर्न समय लाग्ने बताए।
प्रधानमन्त्री साहले नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा बसोबास गरिरहेका नागरिकहरूको सुरक्षा, स्वास्थ्य र जीवनस्तरलाई ध्यानमा राखेर स्थानान्तरण तथा व्यवस्थापनका कार्य अघि बढाइएको स्पष्ट पारे। उनका अनुसार बाढी, डुबान, सरसफाइ र स्वास्थ्यसम्बन्धी जोखिमका कारण प्रभावित बस्तीहरूको व्यवस्थापन आवश्यक बनेको हो।
सरकारले गठन गरेको सम्बन्धित समिति र मन्त्रालयमार्फत सुकुमवासी व्यवस्थापनको काम अगाडि बढिरहेको तथा चालु आर्थिक वर्षभित्र ठोस प्रगति हुने अपेक्षा गरिएको पनि उनले उल्लेख गरे।












