काठमाडौं । देशका विभिन्न आठ विश्वविद्यालयमा रिक्त रहेको उपकुलपति पदपूर्तिका लागि आवेदन आह्वान गरिएको छ । उपकुलपति छनोट तथा सिफारिस समितिले शुक्रबार सूचना जारी गर्दै इच्छुक योग्य व्यक्तिहरूलाई दरखास्त दिन आग्रह गरेको हो ।
समितिका अनुसार त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयमा उपकुलपति पद खाली रहेको छ ।
इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमार्फत अनलाइन आवेदन दिन सक्ने समितिले जनाएको छ । साथै, उपकुलपति नियुक्तिसम्बन्धी एकीकृत कार्यविधि पनि मन्त्रालयको वेबसाइटमा उपलब्ध गराइएको छ ।
सरकारले हालै ल्याएको अध्यादेशमार्फत ती विश्वविद्यालयका पदाधिकारीहरू पदमुक्त भएपछि नयाँ नियुक्ति प्रक्रिया अघि बढाइएको हो । यसैबीच, रिक्त पदका लागि नाम सिफारिस गर्न गठित समितिले वैशाख २४ गते कार्यविधि स्वीकृत गरेको जनाएको छ ।













