काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्राकृतिक विपद्बाट उत्पन्न संकट सामना गर्न सरकारसँग आवश्यक स्रोत तथा साधनको कमी हुन नदिने बताएका छन्।
बिहीबार सिंहदरबारमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भएको छलफलपछि सञ्चारकर्मीसँग कुरा गर्दै अर्थमन्त्री वाग्लेले तत्काल उद्धार तथा राहतदेखि दीर्घकालीन पुनर्निर्माणसम्मका लागि आवश्यक बजेटको व्यवस्था गरिएको जानकारी दिए। उनका अनुसार आन्तरिक स्रोतसँगै अन्तर्राष्ट्रिय सहयोगबाट समेत आर्थिक स्रोत सुनिश्चित गर्ने काम अघि बढिसकेको छ।
राष्ट्रिय संकटको समयमा सबै राजनीतिक दल एकजुट भएर अघि बढ्नु सकारात्मक भएको उल्लेख गर्दै उनले सरकार, राजनीतिक दल, नागरिक समाज र निजी क्षेत्रबीच समन्वय र सहकार्य आवश्यक रहेको बताए।
वाग्लेले विश्व बैंकसँगको सहकार्यमा विपद् लगत्तै करिब २५ अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग सुनिश्चित भएको जानकारी दिए। त्यस्तै चीन, भारत, जापान, एसियाली विकास बैंक (एडीबी) तथा रेडक्रसको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी) बाट समेत सहयोगको प्रतिबद्धता आएको उनले बताए।
अर्थमन्त्रीका अनुसार चालु आर्थिक वर्षको बजेटमा विपद् व्यवस्थापनका लागि १० अर्ब रुपैयाँ छुट्याइएको छ। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ अर्ब ३४ करोड रुपैयाँ तथा गृह मन्त्रालयको कोषमा १ अर्ब १७ करोड रुपैयाँ उपलब्ध रहेको भन्दै उनले तत्कालीन उद्धार र राहत कार्यमा आर्थिक अभाव नहुने स्पष्ट पारे।
उनले २०७२ सालको भूकम्पपछि नेपालले गरेको पुनर्निर्माणबाट प्राप्त अनुभवलाई आधार बनाउँदै यसपटक पनि वैज्ञानिक अध्ययन, तथ्य र आवश्यक मूल्यांकनका आधारमा व्यवस्थित पुनर्निर्माण अभियान सञ्चालन गरिने बताए।











