Skip to content
logo
श्रावण १२ गते २०८१ समयः

रोङ गाउँपालिकाको पाथीभरा मन्दिरमा ८८ लाख भेटी अनियमितता भएको आशंका

मेरो आर्थिक
मेरो आर्थिक
असाेज ६ गते २०८०
रोङ गाउँपालिकाको पाथीभरा मन्दिरमा ८८ लाख भेटी अनियमितता भएको आशंका

इलामको पाथीभरा मन्दिरको भेटी बापतको रकम हिमामिना भएको रोङ गाउँपालिकाको दावी छ । जिल्ला प्रशासन कार्यालयको छानविन प्रतिवेदन सार्वजनिक नभएपछि रोङ गाउँपालिकाले गठन गरेको अध्ययन समितिले भेटी, सुन, चाँदी र अन्य सहयोगबापतको ८८ लाख ८३ हजार १ सय २४ रुपैयाँ रकम हिनामिना भएको दावी गरेको छ ।

मन्दिरमा चढाएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै जिल्ला प्रशासन कार्यालय इलामलाई छानबिनका लागि आग्रह गरेपनि अझै प्रतिवेदन सार्वजनिक नगरिएपछि गाउँपालिकाले प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ ।

गाउँपालिकाको वडा नम्बर –३ मा रहेको पाथीभरा मन्दिरमा चढाइएको ८८ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना भएको भन्दै गाउँपालिकाले जिल्ला प्रशासन कार्यालय इलामलाई छानविनका लागि आग्रह गरेपछि छानविन समिति बनेको तर लामो समय बितिसक्दा पनि प्रतिवेदन सार्वजनिक नगरेको भन्दै गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्बोले प्रतिवेदन सार्वजनिक गर्न माग गर्नुभएको छ ।

गाउँपालिकाको अध्ययन प्रतिवेदनका अनुसार समितिले आर्थिक वर्ष ०७५/०७६ देखि ०७९ को माघ मसान्तसम्म पाथीभरा मन्दिरको कूल आम्दानी तीन करोड १४ लाख ६२ हजार ९ सय २९ देखिएको उल्लेख छ । जसमध्ये दुई करोड २० लाख ९१ हजार २ सय ४२ रुपैयाँ खर्च भएको प्रतिवेदनमा छ । २०७५ असोजदेखि २०७९ माघ मसान्तसम्मको ८८ लाख ८३ हजार १ सय २४ रकम मौजदात रहनुपर्ने प्रतिवेदनमा उल्लेख छ । तर उक्त रकम कहाँ छ भनेर प्रतिवेदनमा उल्लेख नगरिएकाले पाथीभरा संरक्षण समितिले रकम हिनामिना गरेको गाउँपालिकाको दावी छ ।

जिल्ला प्रशासन कार्यालय इलामले छानविन प्रतिवेदन गुपचुप गरेको आरोप लागेपनि प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले यस्तो नभएको बताउनुभयो । गाउँपालिकाको निरन्तर दबाबपछि जिल्ला प्रशासन कार्यालय इलामले गत जेठ २३ गते सहायक प्रमुख जिल्ला अधिकारी ध्रुवप्रसाद कोइरालाको संयोजकत्वमा छानविन समिति गठन गरेको थियो । उक्त समितिमा गाउँपालिकाको तर्फबाट लेखा परीक्षक प्रज्ज्वल अधिकारी सहभागिता रहेको थियो ।

तीन महिना लगाएर समितिले इलामका प्रमुख जिल्ला अधिकारी पोखरेललाई प्रतिवेदन बुझाएको थियो । तर, प्रतिवेदन सार्वजनिक गर्न पोखरेलले आनाकानी गरेको भन्दै गाउँपालिका आफैँले अध्ययन प्रतिवेदन सार्वजनिक गरेको हो ।

रोङ गाउँपालिकाले पाथीभरा मन्दिरमा अनियमितता भएको आशंका गर्दै जिल्ला प्रशासन कार्यालय इलामलाई पत्र लेखेदेखि गाउँपालिका र प्रशासनबीच टकराव सुरु भएको थियो ।

सानो पाथीभरा नामले परिचित मन्दिरमा संकलन भएको भेटी, सुन, चाँदी र अन्य सहयोगमा घोटाला भएको हुनसक्ने भन्दै गत जेठमा गाउँपालिकाले प्रशासनलाई पत्र लेखेको थियो ।

Add a new comment