बालेनको डोजर कवाड संकलन केन्द्रमा, संकलक र व्यवसायी आन्दोलनमा
मेरो आर्थिक
फागुन २१ गते २०८०
समयः ७:५७ am
काठमाडौं महानगरपालिकाले कवाड संकलन र भण्डारणमा रोक लगाएको विरोधमा आइतबार कवाड संकलक र व्यवसायीले प्रदर्शन गरेका छन् ।
सुन्धाराबाट र्याली निकालेका उनीहरुले महानगरपालिकाको कार्यालय राष्ट्रियसभा गृहबाहिर प्रदर्शन र नाराबाजी गरेका हुन् । महानगरपालिकाले आफ्नो क्षेत्रभित्र कवाड संकलन र भण्डारणमा प्रतिबन्ध लगाएको भन्दै पछिल्लो केही हप्तादेखि कवाड संकलन केन्द्रहरुमा डोजर चलाइरहेको छ ।
महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले १५ भन्दा बढी कवाड संकलन केन्द्रमा डोजर चलाइसकेको बताए ।
‘३ महिनादेखि माइकिङ गरेर हट्न भनेको थियौं, अहिले डोजर चलाउन थालिएको हो । महानगरभित्र ९० वटा कवाडी छ भन्ने हाम्रो अध्ययनले देखाएको छ । ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने नै हाम्रो नीति हो’, पाण्डेले भने ।
अहिले काठमाडौंको मात्रै नभएर ललितपुर, भक्तपुर, कीर्तिपुर लगायत क्षेत्रका कवाड व्यवसायीले पनि महानगर विरुद्ध आन्दोलन गरिरहेको पाण्डेले बताए । जनप्रतिनिधिहरुले कवाड संकलन केन्द्रका कारण धेरै असुरक्षा भएको गुनासो गरेको भन्दै नगर प्रहरी प्रमुख पाण्डेले नक्सापास नगरी राखिएका कवाड संकलन केन्द्रमा डोजर चलाएको बताए ।
मेयर बालेन शाहका स्वकीय सचिव भूपदेव शाहले महानगर आफैंले कवाड संकलन गर्न खोजेको बताए । ‘महानगरपालिकाभित्र आफैं कवाड संकलन गर्ने तयारी छ । आफैंले संकलन गर्ने भएपछि अनौपचारिक रुपमा भइरहेको संकलनलाई रोक्न खोजेको हो’, उनले भने ।
आफूहरुको रोजीरोटी खोसेको भन्दै कवाड संकलक र व्यवसायी मेयर बालेन शाहसँग आक्रोस पोखेका छन् । काठमाडौंका विभिन्न टोलमा साइकलमार्फत कवाड संकलन गर्दै आएका कवाड व्यवसायले महानगरपालिकालाई कर तिरिरहेको बताउँछन् । त्यसैले आफूहरुलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने उनीहरुको माग छ ।
कवाड संकलन नगर्ने हो भने एकातिर काठमाडौंमा अहिले भन्दा धेरै फोहोर जम्मा हुने र अर्कोतिर प्लाष्टिक तथा फलाम उद्योगले भारतबाट कच्चा पदार्थ किनेर ल्याउनुपर्ने उनीहरुको भनाइ छ ।