सूर्योदय नगरपालिकामा नयाँ बर्षको अवसर पारेर अन्तु पर्यटन महोत्सव हुने

मेरो आर्थिक
चैत्र १९ गते २०८०
समयः १०:२५ am

सूर्योदय नगरपालिकामा नयाँ बर्षको अवसर पारेर अन्तु पर्यटन महोत्सव हुने भएको छ । चैत्र २८ गतेबाट बैशाख १ गतेसम्म चल्ने महोत्सवमा सुर्योदय नगरपालिकाले सांस्कृतिक र सांगितिक कार्यक्रम गर्न लागेको हो ।
नगरपालिकाले पत्रकार सम्मेलन गरेर महोत्सवको बारेमा जानकारी गराएको छ । कार्यक्रममा नगरलाई सर्वकालिन पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न महोत्सवको आयोजना गरिएको जनाइएको थियो । महोत्सवमा चैत्र २८ गते वृहत सरसफाई कार्यक्रम हुनेछ । चैत्र ३० गते सूर्योदय आइडलको प्रस्तुती, विभिन्न खाद्य परिकार र हस्तकलाको स्टल स्थापनाका साथै दिपावली र डिजे सेसन गर्दैछ । त्यसैगरी बैशाख १ गते सूर्योदयको दृश्यावलोकन, शुभकामना आदान प्रदान, विभिन्न सांस्कृतिक झाँकी, सूर्योदय आइडलको बिजेता घोषणा तथा पुरस्कार वितरण र राष्ट्रिय कलाकारहरुको सांगितक प्रस्तुती राखेको छ । आइडलको शिर्ष ८ प्रतिस्पधीहरु तय भएकाले बैशाख ३० मा अन्तिम प्रतिस्पर्धाबाट बिजेता छनौट हुने जनाइएको छ ।

महोत्सवमा याम बराल, भुपेन्द्र राई, पुजन प्रधान, गणेश पराजुली, यशोदा पराजुली, फूटी शेर्पा लगायतले सांगीतिक प्रस्तुति दिने छन् । सोही अवसरमा लागु पदार्थ दुव्र्यसनी, मदिरा तथा सुर्तिजन्य बस्तुहरुको नियमन नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी सन्देमुलक सचेतना कार्यक्रम समेत राखिएको छ । महोत्सव संचालनका लागि करिब १० लाख रुपैया खर्च हुने अनुमान राखिएको छ ।