अर्थमन्त्री डॉ. स्वर्णिम वाग्ले ले नेपालको वर्तमान आर्थिक अवस्था करिब एक दशकअघिको भारतसँग मिल्दोजुल्दो रहेको बताएका छन्। बाह्रखरी मिडियाद्वारा आयोजित ‘इकोनोमिक सिम्पोजियम’ तथा एनसेल बिजनेस बाह्रखरी गल्फ प्रतियोगितामा बोल्दै उनले नेपाल अहिले आर्थिक रूपान्तरणको महत्वपूर्ण मोडमा रहेको उल्लेख गरे।
उनका अनुसार सन् २०१४ मा भारतको प्रतिव्यक्ति आय करिब १५०० अमेरिकी डलर थियो, जुन स्तरमा अहिले नेपाल पुगेको छ। यसलाई उनले “आर्थिक उडानको सुरुआत बिन्दु” का रूपमा व्याख्या गरे।
मन्त्री वाग्लेले वर्तमान सरकार पूर्ण पाँच वर्ष टिक्ने दाबी गर्दै यसले लगानीकर्तालाई स्थायित्व र भरोसा दिने बताए। नेपाल भूपरिवेष्ठित देश भएकाले भौगोलिक चुनौतीलाई पार गर्न डिजिटल प्रविधि नै मुख्य उपाय हुने उनको भनाइ छ। सूचना प्रविधिलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायलाई प्रधानमन्त्री कार्यालय मातहत ल्याइएको र यसबाट सेवा प्रवाहमा सुधार आउने अपेक्षा गरिएको उनले बताए।
निजी क्षेत्रलाई सशक्त बनाउने प्रतिबद्धता जनाउँदै उनले इमानदार व्यवसायीलाई सरकारले सुरक्षा दिने स्पष्ट पारे। साथै, आगामी ७ वर्षभित्र प्रतिव्यक्ति आम्दानी ३ हजार डलर पुर्याउने र कुल अर्थतन्त्रलाई १०० अर्ब डलर नजिक लैजाने लक्ष्य रहेको जानकारी दिए।
भारतले पछिल्लो दशकमा हासिल गरेको ९–१० प्रतिशतको आर्थिक वृद्धिदर नेपालले पनि हासिल गर्न सक्ने विश्वास उनले व्यक्त गरे। कार्यक्रममा सहभागी अमिताभ कान्त र रामेश्वर खनाल का धारणा समर्थन गर्दै मन्त्री वाग्लेले नेपालका पर्यटन, जलविद्युत् र उच्च मूल्यका कृषि उत्पादनले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न सक्ने बताए।












