काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त तथा प्राथमिकता बिहीबार संसदमा पेश गर्ने भएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थ समितिको बैठकमा उक्त जानकारी दिएका हुन् ।
उनले बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि सांसदहरूले दिने सुझावलाई आगामी बजेट निर्माणमा समेटिने बताए । साथै, सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रम राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणापत्रसँग धेरै विषयमा मेल खाने उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले बजेटसम्बन्धी विभिन्न माग लिएर सांसदहरू अर्थ मन्त्रालय पुग्ने क्रम जारी रहेको पनि बताए । नयाँ सरकार गठनअघि नै बजेटको सिलिङ पठाइसकिएकाले अहिले बजेटमा नयाँ कार्यक्रम समावेश गर्न सीमित अवसर रहेको उनको भनाइ थियो ।
प्रचलित कानुनअनुसार सरकारले बजेट सार्वजनिक गर्नु भन्दा कम्तीमा १५ दिनअघि बजेटका सिद्धान्त तथा प्राथमिकता संसदमा पेश गर्नुपर्ने व्यवस्था रहेको छ ।












