काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साहले नेपाल सरकारलाई प्राप्त भएका विभिन्न आयोग तथा छानबिन समितिका प्रतिवेदनहरूको समग्र अध्ययन गरी आवश्यक कारबाही अघि बढाइने बताएका छन्।
आइतबार प्रतिनिधिसभा बैठकमा सांसद अर्जुननरसिंह केसीले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री साहले कुनै एक प्रतिवेदनमा मात्र सीमित नरही विगतका विभिन्न आन्दोलन, प्रदर्शन तथा त्यसक्रममा भएका घटनासम्बन्धी प्रतिवेदनहरूलाई समेत सरकारले समीक्षा गर्ने जानकारी दिए।
उनले विभिन्न समयमा गठित आयोग तथा समितिहरूले तयार पारेका प्रतिवेदनहरू सरकारसमक्ष रहेको उल्लेख गर्दै ती प्रतिवेदनका निष्कर्ष र सिफारिसहरूको अध्ययनपछि आवश्यक निर्णय र कार्यान्वयन प्रक्रिया अघि बढाइने बताए।
प्रधानमन्त्री साहका अनुसार देशका विभिन्न कालखण्डमा भएका आन्दोलन, र्याली तथा दमनका घटनासम्बन्धी अनेकौं प्रतिवेदन तयार भएका छन्। ती सबै दस्तावेजलाई एकीकृत रूपमा अध्ययन गरी प्राप्त सुझाव र निष्कर्षका आधारमा सरकार अघि बढ्ने उनको भनाइ छ ।













