काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट उत्पन्न परिस्थितिबारे प्रधानमन्त्री बालेन शाहले प्रभावित क्षेत्रका संघीय सांसदहरूसँग छलफल गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको छलफलमा रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनका सांसद सहभागी थिए। बैठकमा बाढीबाट भएको क्षति, नदी आसपासका बस्तीको अवस्था तथा प्रभावित नागरिकको उद्धार र राहतका विषयमा जानकारी लिइएको थियो।
छलफलका क्रममा सांसदहरूले आफ्नो निर्वाचन क्षेत्रमा बाढीका कारण परेको प्रभावबारे प्रधानमन्त्री शाहलाई जानकारी गराउँदै तत्काल उद्धार, राहत र पुनःस्थापनाका लागि आवश्यक कदम चाल्न आग्रह गरेका थिए।
यसअघि प्रधानमन्त्री शाहले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकसमेत बोलाएका थिए। बैठकमा बाढी प्रभावित क्षेत्रको पछिल्लो अवस्था, खोज तथा उद्धार अभियान र राहत वितरणको प्रगतिबारे सम्बन्धित निकायबाट जानकारी लिइएको थियो।
सांसदहरूसँगको छलफलमा प्रधानमन्त्री शाहले प्रभावित नागरिकको सुरक्षा र राहतलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका थिए। उनले तल्लो तटीय क्षेत्रमा थप सतर्कता अपनाउन तथा जोखिममा रहेका र विस्थापित नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको जानकारी गराए।
बाढी प्रभावित क्षेत्रमा सुरक्षा निकायका टोली परिचालन गरी खोज तथा उद्धार कार्यलाई तीव्र बनाइएको सरकारले जनाएको छ। प्रभावित क्षेत्रको अवस्था मूल्यांकन गर्दै आवश्यक राहत तथा सुरक्षा व्यवस्था थप प्रभावकारी बनाउने प्रयास भइरहेको छ।












