राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा हालसम्म ८ मध्ये ६ वटा अध्यादेश जारी गरेका छन्। पछिल्ला तीन दिनको अवधिमा संविधानको धारा ११४ (१) बमोजिम ती अध्यादेशहरू प्रमाणीकरण गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।
राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार शनिबार अपराह्न थप तीन अध्यादेश जारी गरिएको हो। यसअघि बिहीबार र शुक्रबार पनि केही अध्यादेश जारी भइसकेका थिए।
राष्ट्रपति कार्यालय स्रोतका अनुसार बाँकी दुई अध्यादेश भने अझै अध्ययनकै चरणमा छन्। विशेषगरी संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा राष्ट्रपतिको विशेष चासो देखिएको छ। यस विषयमा यसअघिका सरकारहरूले पनि पटक–पटक सिफारिस गरेकाले जारी गर्ने वा नगर्ने भन्नेमा स्पष्ट निर्णय हुन सकेको छैन। सोही कारण राष्ट्रपतिले कानुनविद्हरूसँग समेत छलफल गरेका थिए।
कानुनविद्हरूले प्रधानमन्त्री बालेन शाह सँग परामर्श गरेर निर्णय लिन सुझाव दिए पनि यसबारे ठोस निष्कर्ष अझै ननिस्किएको स्रोतको भनाइ छ। हालसम्म सार्वजनिक गरिएका निर्णयहरूमा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश समावेश छैन।
यसैगरी ‘केही नेपाल ऐन’ संशोधनसम्बन्धी अर्को अध्यादेश पनि छलफलकै क्रममा रहेको छ। उक्त अध्यादेशमार्फत २५ भन्दा बढी कानुन संशोधन गर्ने प्रस्ताव गरिएको बताइएको छ।
पछिल्ला दिनमा जारी भएका अध्यादेशहरूमा १७ वैशाखमा सार्वजनिक खरिद (दोस्रो संशोधन) र सहकारी (पहिलो संशोधन) अध्यादेश, १८ वैशाखमा सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी तेस्रो संशोधन अध्यादेश तथा १९ वैशाखमा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सार्वजनिक पदाधिकारी पदमुक्ति विशेष व्यवस्था र विश्वविद्यालयसम्बन्धी ऐन संशोधन अध्यादेश समावेश छन्।













