माई खोला हाइड्रोपावर लिमिटेडले फागुन २५ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले जारी पूँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ९२ लाख १५ हजार ७०० रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ९२ हजार १५७ कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्र ईलाम जिल्लाका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो।
यसका साथै सर्वसाधारणमा निष्काशन हुने शेयरको १० प्रतिशतले हुन आउने १ करोड ५२ लाख ९४ हजार १०० रुपैयाँ बराबरको प्रतिशेयर १०० अंकित मूल्यका १ लाख ५२ हजार ९४१ कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृत प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो।
आईपीओ निष्काशनको लागि गराएको रेटिङ्गमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपि डबल बी प्लस रेटिङ्ग प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
सो शेयरका लागि न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ। आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुले अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् भने वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले अधिकतममा ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजन प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन बन्द छिटोमा चैत ९ गते हुनेछ भने ढिलोमा चैत २४ गते हुनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने चैत ९ गतेभित्र आवेदन दिनु पर्नेछ।











