काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणका एक जना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । प्रकरणका फरार प्रतिवादीहरुको खोजतलास गर्ने क्रममा आज उनलाई पक्राउ गरिएको हो ।
काठमाडौंको मण्डिकाटारबाट २४ वर्षीय आशिष बुढाथोकीलाई पक्राउ गरिएको छ भने ठगी गरिएको भनिएको रकम उनको खातामा जम्मा भएको देखिएकाले प्रतिवादी बनाइ पक्राउ गरिएका छ । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिकाको प्रलोभनमा पारी करोडौं रकम असूली गरेको आरोपमा ३० जनालाई प्रतिवादी बनाएर १० जेठमा जिल्ला अदालत, काठमाडौंमा मुद्दा दायर भएको थियो ।
जसमध्ये तुरुन्तै १६ जना र पछि प्रहरीले थप दुई जनालाई पक्राउ गरेको थियो । पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउर्जामन्त्री टोपबहादुर रायमाझीसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतले १ असारमा आदेश दिएको थियो । प्रतिवादीमध्ये लक्ष्मी महर्जन र टंककुमार गुरुङलाई धरौटीमा छाड्न आदेश भएको थियो ।
मन्त्रीस्तरीय निर्णयबाट समिति गठन गरेपछि ठगी धन्दा सुरु भएको देखिन्छ । बहालवाला मन्त्री सहित पूर्वमन्त्री, सचिव, कर्मचारी र राजनीतिज्ञ वरपरका व्यक्तिहरू घटनामा मुछिएका छन् । यस प्रकरणमा प्रत्यक्ष संलग्न भनिएका पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतिक थापा लगायत सबै फरार छन् ।













