विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेकोमा चौतर्फी विरोध सुरु : Mero Aarthik
जेठ १८ गते २०८२
ब्रेकिङ न्यूज

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेकोमा चौतर्फी विरोध सुरु

मेरो आर्थिक मेरो आर्थिक चैत्र ११ गते २०८१

सोमबार सरकारले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्त गरेको बिरोधमा चौतर्फी विरोध सुरु भएको छ । मंगलबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै ‘कता हिँडेको, बिजुली मारेर, कुलमान फालेर’ नारा लगाएका छन् ।यस्तै प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) ले पनि विरोध गरेको छ । अध्यक्ष पुष्पकमल दाहालले नै सरकारले गलत गरेको बताएका छन् ।

यसअघि आज विहान कुलमानलाई हटाएको विरोधमा काठमाडौंको प्रदर्शनीमार्गमा विद्यार्थीहरुले ऊर्जामन्त्री दीपक खड्काको पुत्ला जलाएका छन् । एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूले प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पस अगाडि प्रदर्शन गर्दै पुत्ला जलाएका हुन् ।
कुलमानको चारवर्षे कार्यकाल आउँदो साउनमा सकिदै थियो । तर, त्यो भन्दा चार महिना अघि नै उनलाई सरकारले हटाउने निर्णय गरेसँगै चौतर्फी विरोध सुरु भएको हो ।

सरकारले चार महिनाअगावै कुलमानलाई बर्खास्त गरेर हितेन्द्रदेव शाक्य नियुक्त गरेको छ । कुलमानलाई हटाएकोमा सत्तामा रहेको दल नेपाली कांग्रेसले पनि विरोध गरेको छ ।