पौष ९ गते २०८२ --:--:--
मेनु

विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्दै

मेरो आर्थिक मेरो आर्थिक पौष ९ गते २०८२ १२:१६ PM
विजय लघुवित्तले पुस २१ गतेदेखि एफपीओ निष्कासन गर्दै

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस २१ गतेदेखि थप सार्वजनिक निष्कासन (FPO) तथा बिक्री खुला गर्ने भएको छ। संस्थापक र सर्वसाधारण शेयरधनीबीचको शेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न लघुवित्तले एफपीओ निष्कासन गर्न लागेको हो।

साविकको नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडसँग मर्जरपछि विजय लघुवित्तको चुक्ता पुँजी ७४ करोड ५० लाख ४० हजार ३५९ रुपैयाँ पुगेको छ। मर्जरपश्चात संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्व अनुपात ७४.३९ प्रतिशत र २५.६१ प्रतिशत रहेको थियो। यही अनुपातलाई आवश्यक समायोजन गर्न एफपीओ जारी गर्न लागिएको लघुवित्तले जनाएको छ।

लघुवित्तले प्रतिशेयर १०० रुपैयाँ अंकित दरमा कुल ४ लाख ६६ हजार ८१७ कित्ता साधारण शेयर निष्कासन गर्नेछ। यस एफपीओको कुल मूल्य ४ करोड ६६ लाख ८१ हजार ७०० रुपैयाँ बराबर रहेको छ।

एफपीओ निष्कासन पुस २४ गतेसम्म छिटोमा बन्द हुनेछ भने सो अवधिमा पूर्ण आवेदन नपरेमा ढिलोमा माघ ५ गतेसम्म खुला रहनेछ। सर्वसाधारण लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

एफपीओ निष्कासनका लागि गरिएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ICRANP Issuer Rating B- प्रदान गरेको छ। यस रेटिङले संस्थाले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

लघुवित्तको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै, सिडिएस एण्ड क्लियरिङ लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ अनलाइन प्रणालीमार्फत पनि आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?