काठमाडौँ । आज देश विदेशका प्रमुख २० समाचार यस प्रकार रहेका छन् ।
१- काठमाडौँ महानगरपालिकाको वडा नम्बर २७ भोटाहिटीमा नेपाल प्रहरीको साइबर ब्युरो कार्यालय रहेको भवन काठमाडौँ महानगरलाई प्रयोग गर्न दिन गृह मन्त्रालयले सहमति दिएको छ । आइतबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा बसेको बैठकले कित्ता नम्बर ३५३, ३५४ र ३५५ को ४ आना, २ पैसा १ दाम भएको जग्गा र सो जग्गामा बनेको भवन महानगरपालिकालाई प्रयोग गर्न दिने गरी सहमति दिएको हो । यो जग्गा समरजंग कम्पनीको नाममा रहेको छ । यो भवनमा वडा कार्यालय राख्न महानगरपालिकाले माग गरेको थियो । सार्वजनिक र सरकारी जग्गाको संरक्षण स्थानीय सरकारले गर्ने कानुनी व्यवस्था छ । यस्ता जग्गाको उपभोग गर्न परे जुन निकाय मातहत छ उसैसँग समन्वय र सम्झौता गर्नु पर्ने व्यवस्था अनुसार गृह मन्त्रालयसँग महानगरपालिकाले सहमतिका लागि माग गरेको हो । निर्णयका बारेमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले, अन्तरसरकार समन्वय, सहकारिता र साझेदारिताको सफल अभ्यास गरिएको प्रतिक्रिया दिइन् । बैठकले, रामशाहपथमा उपत्यका ट्राफिक प्रहरी महाशाखा रहेको सात रोपनी, दुई पैसा, तीन दाम जग्गा सरकारको नाममा दर्ता गर्न महानगरपालिकाले सहमति प्रदान निर्णय भएको छ । यसरी सहमति प्रदान गरिएको जमिनमध्ये कम्तीमा ८ आना जमिनमा समरजंग कम्पनी कार्यालय र बाँकी जमिनमा नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी कार्यालयले उपभोग गर्ने गरी प्रक्रिया अगाडि बढाइने बैठकले निर्णय गरेको हो ।
२- गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुर जिल्लाका दुई वटै निर्वाचन क्षेत्रका प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा पुगी निर्वाचन तयारी र सुरक्षा अवस्थाको निरीक्षण गरेका छन् । गृह सचिव राजकुमार श्रेष्ठ तथा सुरक्षा महाशाखा प्रमुखसहितको टोलीका साथ पुगेका मन्त्री अर्यालले भक्तपुरको क्षेत्र नम्बर १ का प्रमुख निर्वाचन अधिकृत नवराज दाहाल र क्षेत्र नम्बर २ का प्रमुख निर्वाचन अधिकृत राधिका सुवालसँग भेट गरी निर्वाचन केन्द्रित प्रशासनिक कार्यहरूको जानकारी लिएका थिए । सो अवसरमा उनले आसन्न निर्वाचनलाई स्वच्छ, निष्पक्ष र स्वतन्त्र रूपमा सम्पन्न गराउन प्रमुख निर्वाचन अधिकृतहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै प्रभावकारी सेवा प्रवाह र सुरक्षा व्यवस्थापनमा विशेष ध्यान दिन निर्देशन दिए । निर्वाचन कार्यालयहरूको निरीक्षण लगत्तै गृहमन्त्री अर्यालले मध्यपुर थिमि–२, सानोठिमीस्थित बाल सुधार गृहको पनि स्थलगत अनुगमन गरेका थिए । गत माघ ८ गते सुधार गृहमा भएको आगजनी र तोडफोडको घटनापश्चात् त्यहाँको पछिल्लो वस्तुस्थिति बुझ्न मन्त्री अर्याल सुधार गृह पुगेका थिए । सो क्रममा उनले उक्त घटनापछि सुधार गृहमा रहेका १८ वर्ष माथिका बाल बिज्याइँकर्ताहरूलाई नुवाकोटस्थित कारागारको छुट्टै ब्लकमा स्थानान्तरण गरिसकिएको जानकारी समेत गराएका थिए ।
३- स्पेनका कार्लोस अल्काराजले सर्बियाका नोभाक जोकोभिचलाई हराउँदै अस्ट्रेलियन ओपनको पुरुष सिंगलको उपाधि जितेका छन् । फाइनलमा २२ वर्षीय अल्काराजले ३९ वर्षीय जोकोभिचलाई २-६, ६-२, ६-३, ७-५ ले पराजित गरेका थिए । यो जितसँगै अल्काराज करियर ग्रान्ड स्लाम जित्ने सबैभन्दा कान्छा पुरुष खेलाडी बनेका छन् । उनले २२ वर्षको उमेरमा सबै चार ग्रान्ड स्लाम जितेर कीर्तिमान बनाएका छन् । यो विश्व नम्बर १ खेलाडी अल्काराजको सातौं ग्रान्ड स्लाम उपाधि हो । यो जितसँगै उनले नोभाक जोकोभिचलाई इतिहास रच्नबाट रोकेका छन् । जोकोभिच आफ्नो २५औं ग्रान्ड स्लाम जित्नबाट चुकेका छन् । उनको रेकर्ड २४ ग्रान्ड स्लाम उपाधि रहेको छ । उनीपछि स्पेनका राफेल नाडाल छन् । नाडालले कुल २२ ग्रान्ड स्लाम उपाधि जितेका छन् भने स्विट्जरल्याण्डका रोजर फेडेररले २० उपाधि जितेका छन् ।
४- नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफु पुराना नेताहरुको भिडमा नभएको बताएका छन् । आइतबार नयाँ पुस्ता र राष्ट्रका नाममा भिडियो सन्देश जारी गर्दै प्रचण्डले आफु ती पुराना नेताहरूको भीडमा नरहेको बताएका हुन् । प्रचण्डले भनेका छन्- ‘धेरैलाई लाग्न सक्छ, म र म जस्ता पुराना नेताहरू एउटै हुन् । तर म आज यो सार्वजनिक मञ्चबाट प्रष्ट भन्न चाहन्छु म ती पुराना नेताहरूको भीडमा छैन । म त्यो सत्ताको भागवण्डाको सम्झौतामा कहिल्यै सहभागी हुन चाहन्नँ, जसले देशलाई बन्धक बनाएर राखेको छ। म फरक छु, र म यो प्रमाणित गरेर छाड्नेछु । मेरो काम र मेरो निष्ठालाई आज होइन, भोलिको समयले प्रमाणित गर्नेछ ।’ उनले अहिले नयाँ पुस्ताले मागिरहेको सुशासन र भ्रष्टाचार निर्मुल पार्ने एजेन्डा आफुले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा भएको बताउदै देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्ने बताएका छन् । उनले भने- ‘तपाईँहरूले आज जे मागिरहनुभएको छ भ्रष्टाचारको अन्त्य, पारदर्शिता र एउटा बलियो सरकार ती मागहरू मैले जनयुद्धका दिनदेखि नै उठाउँदै आएका एजेन्डा हुन्। मैले लामो समयदेखि भन्दै आएको छु कि यो देशमा राजनीतिक स्थिरता र विकासका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था हुनुपर्छ। यो संसदीय खेल र कुर्सीको तानातानले देशलाई कति पछाडि धकेल्यो, त्यो हामी सबैले देखेका छौँ। त्यसैले म भन्छु, मेरो माग र तपाईँहरूको माग एउटै हो। म तपाईँहरूकै पुस्ताको सोच बोकेर हिँडेको यात्री हुँ ।’ प्रचण्डले आफ्नो निजी जीवन बारे बोल्दै भने- ‘मेरो जीवनको यात्रा एउटा खुल्ला किताब जस्तै छ। म त्यो पिता हुँ, जसले आफ्नै आँखा अगाडि आफ्नो जेठी छोरी ज्ञानु र जवान छोरा प्रकाशलाई गुमाउनु पर्यो। म त्यो श्रीमान् हुँ, जसको जीवनसंगिनीले बीच बाटोमै साथ छोडेर गइन्। मैले समयको चक्रमा आफ्ना परिवारका सदस्यहरू मात्र होइन, हजारौँ सहयोद्धा र सहयात्रीहरूलाई पनि गुमाएको छु । एउटा मान्छेले आफ्नो जीवनमा जे जति गुमाउन सक्छ, मैले ती सबै गुमाएँ । तर मलाई अझै पनि के कुराले अगाडि बढ्न प्रेरित गर्छ भने यो संघर्ष मेरो व्यक्तिगत होइन यो त ती हजारौँ शहीदहरूको सपना पूरा गर्ने यात्रा हो, जसले एउटा सुन्दर र समृद्ध नेपालको लागि आफ्नो रगत बगाए। मलाई थाहा छ, मेरो परिवार र मेरा कमरेडहरूको यो बलिदान खेर जाने छैन । परिवर्तन अनिवार्य छ, र म यो सुनिश्चित गर्नेछु कि त्यो परिवर्तन भएरै छाड्नेछ ।’ प्रचण्डले आफु खलनायक बनेर इतिहासको पानामा हराउन नचाहेको बताउदै देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम नलिने बताए । उनले आफ्नो काम अझै नसकिएको भन्दै हार मान्न तयार नभएको समेत बताएका छन् । उनले भनेका छन्- हलिउडमा एउटा चर्चित संवाद छ ‘या त तिमी नायकको रूपमा मर, या त आफूलाई खलनायक बनेको हेर्न जीवित रहू ।’ यदि म धेरै अघि बिदा भएको भए, सायद देशले मलाई नायकको रूपमा मात्र सम्झिन्थ्यो होला। तर, म खलनायक बनेर इतिहासको पानामा हराउन चाहन्नँ। म यो देशलाई सही दिशामा नपुर्याएसम्म विश्राम लिने छैन। तपाईँहरूले मलाई आज कुन रूपमा देख्नुहुन्छ, त्यो तपाईँहरूको स्वतन्त्रता र अधिकार हो, तर मेरो अभावमा मेरो उपस्थितिको महसुस तब हुनेछ, जब तपाईँहरूले मैले कोरेका परिवर्तनहरूलाई भोग्नुहुनेछ। म हार मान्न तयार छैन, किनकि मेरो काम अझै सकिएको छैन ।’ प्रचण्डले आफु नयाँ विचारहरूका लागि सधैँ खुला रहेको बताउदै नयाँ पुस्तालाई स्वागत गर्ने र नयाँपनलाई आत्मसात् गर्न तयार रहेको बताएका छन् । उनले प्रश्न सोध्न नछोड्न आग्रह गर्दै आफु त्यसको जवाफ दिन तयार रहेको र अझ बढी दबाब दिन समेत आग्रह गरेका छन् । प्रचण्डले अब अर्को २० वर्ष परीक्षण र त्रुटि गर्दै नयाँ नेताहरू जाँच्ने समय नभएको भन्दै गम्भीरतापूर्वक सोच्न सबैलाई आग्रह गरेका छन् ।
५- इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनीले अमेरिका आक्रमण गरेमा क्षेत्रीय युद्ध निम्त्याउने चेतावनी दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सैन्य कारबाहीको धम्की दिइरहेको समयमा खामेनीले यस्तो चेतावनी दिएका हुन् । खामेनीले भनेका छन्- ‘अमेरिकीहरूले बुझ्नुपर्छ, यदि उनीहरूले युद्ध सुरु गरे भने, यस पटक यो क्षेत्रीय युद्ध हुनेछ ।’ अमेरिकी विमानवाहक युएसएस अब्राहम लिंकन सहित धेरै युद्धपोतहरू अरब सागरमा तैनाथ गरिएको छ । तेहरानमा राष्ट्रव्यापी विरोध प्रदर्शनमा इरानको दमन पछि ट्रम्पको आदेशमा अमेरिकी युद्धपोतहरू पठाइएको थियो ।
६- योङ कम्युनिस्ट लिग (वाईसीएल) नेपालले आफ्नो अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको छ । संगठनको केन्द्रीय समितिको भर्चुअल माध्यमबाट बसेको बैठकले देशभरका सबै निर्वाचन क्षेत्रमा विशेष सुरक्षा दस्ता परिचालन गर्ने रणनीति तय गरेको छ । वाईसीएलका अध्यक्ष पुष्प ओलीका अनुसार देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा मतदाता र उम्मेदवारको सुरक्षाका लागि ‘स्पेसल टास्क फोर्स’ (एसटीएफ) क्याम्पिङ गर्ने निर्णय गरेको छ । निर्वाचनका क्रममा हुन सक्ने अवरोध रोक्न र आफ्नो पक्षमा माहोल बनाउन संगठनले ‘एक बुथ, सय युथ’ अवधारणा अनुसार युवा परिचालन गर्ने समेत तयारी गरेको छ । मतदान क्षेत्रकै युवालाई त्यहीँको जिम्मेवारी दिइने र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिने जानकारी अध्यक्ष पुष्प ओलीले दिएका छन् । पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र फ्याक्सन इन्चार्ज दीपशिखाले युवाहरूलाई विशेष भूमिका निर्वाह दिएको निर्देशन अनुसार अर्धसैन्य संरचना पुनः ब्युँताउने निर्णय गरेको बताइएको छ ।
७- भारतले केन्द्रीय बजेटमार्फत नेपाललाई प्रदान गरिने विकास सहयोग रकम बढाएको छ । आइतबार भारतको संसदमा बार्षिक बजेट सार्बजनिक गर्दै अर्थमन्त्री निर्मला सितारमणले भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत नेपाललाई ८०० करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी हुन् । भारतले अघिल्लो बर्षको अनुदान भन्दा १०० करोड भारु बढाएको हो । भारतले दिएको अनुदान रकम नेपालको पूर्वाधार निर्माण, सीमा क्षेत्रका विकास आयोजना तथा सामाजिक क्षेत्रका परियोजनामा खर्च हदै आएको छ । बजेटमा भारतले यसपटक नेपालसँगै भुटान, श्रीलंका र अफगानिस्तानलाई पनि सहायता रकम बढाएको छ ।
८- नेपाल सरकारले इरान भ्रमण नगर्न ट्राभल एडभाइजरी जारी गरेको छ । आइतबार परराष्ट्र मन्त्रालय इरानमा भइरहेको विकासक्रमलाई ध्यानमा राख्दै, नेपाली नागरिकहरूलाई अवस्था सामान्य नभएसम्म इरानको यात्रा गर्ने योजना स्थगित गर्न सल्लाह दिएको छ । मन्त्रलायले हाल इरानमा बसोबास गरिरहेका वा काम गरिरहेका नेपाली नागरिकहरूलाई उपलब्ध कुनै पनि माध्यमबाट सकेसम्म चाँडो देश छोड्न सल्लाह दिएको छ । इरानमा रहेका नेपाली नागरिकहरूलाई पनि देशबाट आपतकालीन निकासको लागि राहदानी र परिचयपत्र लगायतका आफ्नो यात्रा कागजातहरू तयार राख्न मन्त्रालयले अनुरोध गरेको छ । इरानमा लगातार भइरहेको सरकार विरोधी प्रदर्शन र अमेरिकाले इरानमाथि आक्रमण गर्ने तयारी गरेको अवस्थामा मन्त्रालयले इरानमा रहेका नेपाली नागरिकलाई सतर्क गराएको हो । साथै मन्त्रालयले समन्वयको लागि परराष्ट्र मन्त्रालय, काठमाडौँ (टेलिफोन: +९७७-०१४२००१८२-८५, +९७७-९८६२६७८४३७, इमेल: waa@mofa.gov.np) र नेपाल दूतावास, दोहा (टेलिफोन: +९७४-६६२१ ४४१९, इमेल: eondoha@mofa.gov.np) मा सम्पर्क गर्न सकिने जानकारी दिएको छ ।
९- युएईले ५४औं राष्ट्रिय दिवसको अवसरमा २६७ नेपाली कैदीहरूलाई माफी दिएको छ । परराष्ट्र मन्त्रलायले २६७ नेपालीलाई उदारतापूर्वक दिइएको माफीप्रति नेपाल सरकारले संयुक्त अरब इमिरेट्स (युएई) सरकारप्रति कृतज्ञता प्रकट गरेको छ । मन्त्रालयले नेपाल र संयुक्त अरब इमिरेट्स बीचको विद्यमान द्विपक्षीय सम्बन्धमा मित्रता, सद्भाव र सौहार्दताको अभिव्यक्तिको रूपमा माफीको मैत्रीपूर्ण र मानवीय इशारालाई नेपाल सरकारले उच्च मूल्याङ्कन गरेको जनाएको छ । परराष्ट्र मन्त्रालयको निर्देशन अनुसार अबुधाबीस्थित नेपाली दूतावासले बारम्बार गरेको अनुरोधको प्रतिक्रियामा युएईको मैत्रीपूर्ण सरकारले माफीको निर्णय गरेको हो । माफी पाएका नेपाली नागरिकहरू, यदि उनीहरूसँग अन्य कुनै विचाराधीन कानुनी मुद्दा वा प्रतिबन्ध नभएको र युएईको प्रचलित कानूनद्वारा तोकिए बमोजिम आवश्यक कानुनी प्रक्रियाहरू पूरा गरेपछि नेपाल फर्किने मन्त्रालयले जनाएको छ ।
१०- स्कटल्याण्ड आइसीसी महिला टी-२० विश्वकपमा छनौट भएको छ । काठमाडौँमा जारी ग्लोबल क्वालिफायर्स अन्तर्गत सुपर सिक्सको अन्तिम खेलमा आइतबार स्कटल्याण्डले अमेरिकालाई ४१ रनले पराजित गर्दै विश्वकपमा छनौट भएको हो । स्कटल्याण्डले दिएको १७९ रनको लक्ष्य पछाएको अमेरिकाले १९ ओभरमा अल आउट हुदै १३७ रन बनाएको थियो । यस अघि स्कटल्याण्डले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउदै १७८ रन बनाएको थियो । योसँगै ग्लोबल क्वालिफायर्सबाट स्कटल्याण्डसहित आयरल्याण्ड, बंगलादेश र नेदरल्याण्डस विश्वकपमा छनौट भएका छन् । इङल्याण्डमा आगामी जुन १२ देखि जुलाई ५ सम्म हुने टी-२० विश्वकपमा सहभागी हुने १२ वटै देशको टुंगो लागेको छ । विश्वकपमा आयोजक इङल्याण्ड स्वत छनौट भएको थियो भने २०२४ को टी-२० विश्वकपमा शिर्ष ५ स्थानमा रहेका अस्ट्रेलिया, भारत, न्यूजील्याण्ड, दक्षिण अफ्रिका र वेस्ट इन्डिज सिधै छनौट भएका थिए । त्यस्तै शिर्ष वरियतामा रहेका पाकिस्तान र श्रीलंका पनि सिधै छनौट भएका थिए । त्यस्तै ग्लोबल क्वालिफायर्सबाट स्कटल्याण्डसहित आयरल्याण्ड, बंगलादेश र नेदरल्याण्डस विश्वकपमा छनौट भएका छन् । नेपाल भने समुह चरणबाटै बाहिरिएर विश्वकपमा स्थान बनाउन असफल भएको थियो ।
११- उदयपुर सिमेण्ट उद्योगका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेलसमेत ८ जनाविरुद्ध मुद्धा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उद्योगमा क्लिङ्करको बढी खपत देखाएर ४६ करोड ५२ लाख ७४ हजार ४२६ अनियमितता गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको जानकारी दिएको छ । अख्तियारले उद्योगका तत्कालीन महाप्रवन्धक सुरेन्द्र कुमार पौडेलविरुद्ध १२ करोड ४७ लाख २२ हजार २४२ बिगो माग गरेको छ । त्यस्तै तत्कालिन निमित्त महाप्रवन्धक नवल किशोर साहविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४२६ बिगो माग गरेको छ । त्यस्तै तत्कालिन निमित्त महाप्रवन्धक महेश प्रसाद काफ्लेविरुद्ध १२ करोड ६३ लाख ६९ हजार १६८ बिगो माग गरेको छ । त्यसैगरी तत्कालीन उत्पादन महाशाखा प्रमुख संजय कुमार लाल, तत्कालीन भण्डार महाशाखा प्रमुख महेश प्रसाद साह, तत्कालीन कलिङ्कर उत्पादन विभाग प्रमुख रवीचन्द्र पौडेल, तत्कालीन सिमेन्ट उत्पादन विभाग प्रमुख हरि प्रसाद अधिकारी र तत्कालीन बिक्री विभाग प्रमुख राम बहादुर जीसीविरुद्ध ४६ करोड ५२ लाख ७४ हजार ४२६ बिगो माग गरेको छ । अख्तियारले बिगो बमोजिमको जरिवाना गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम बिगोसहित कानुन अनुसार कारवाहीको माग गरेको छ ।
१२- नेप्से आज दोहोरो अंकको गिरावट आएको छ । आइतबर नेप्से १९.८५ अंकले घटेर २६९४.२० विन्दुमा पुगेर रोकिएको छ । आज ३२९ कम्पनिका २ करोड २० लाख ६० हजार ४५४ कित्ता शेयर ९ अर्ब १० करोड ९४ लाख ५७ हजार २७८ मा कारोबार भएको थियो । आज ट्रेडिङबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज मिथिला लघुवित्तको शेयरको सबैभन्दा बढी ९.७० प्रतिशतले बढेको छ भने क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर ८.१९ प्रतिशतले बढेको छ । त्यसैगरी आज कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै आज सबै भन्दा बढी अन्खु खोला जलविद्युतको ५५ करोड ५२ लाख बराबरको कारोबार भएको छ भने एसवाई प्यानलको ५३ करोड ६४ लाख कारोबार भएको छ ।
१३- इरानले युरोपियन युनियनलाई जवाफी कारवाही गरेको छ । युरोपियन युनियनले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई आतंकवादीको सूचीमा राखेपछि इरानले पनि अब सबै युरोपेली संघका सैन्य बलहरूलाई आतंकवादी समूह मान्ने निर्णय गरेको छ । इरानको संसदका सभामुख मोहम्मद बाघेर कालिबाफले इरानलले अब सबै युरोपेली संघका सैन्य बलहरूलाई आतंकवादी समूह मान्ने बताएका हुन् । उनको टिप्पणी गत हप्ता ईयूले इरानको अर्धसैनिक क्रान्तिकारी गार्डलाई देशव्यापी विरोध प्रदर्शनमा रक्तपातपूर्ण कारबाहीमा भूमिका खेलेकोमा आतंकवादी समूहको रूपमा सूचीबद्ध गर्न सहमति जनाएपछि आएको हो । कालिबाफले आफ्नो घोषणाको लागि २०१९ को कानूनलाई उद्धृत गरेका छन् । अमेरिकाले गार्डलाई आतंकवादी समूह घोषित गरेपछि यो कानून पारित गरिएको थियो । यसले इरानलाई त्यसो गर्ने कुनै पनि राष्ट्र विरुद्ध बदला लिन अनुमति दिन्छ । कालिबाफले संसदमा गार्डको पोशाक लगाएर यो घोषणा गरेका हुन् । यद्यपि, यो त्यस्तो समयमा आएको हो जब मध्य पूर्वमा तनाव बढिरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध सम्भावित सैन्य हमलाको तयारी गरिरहेका छन् । इरानले आइतबार र सोमबार रणनीतिक स्ट्रेट अफ होर्मुजमा सैन्य अभ्यासको योजना पनि बनाएको छ, जुन फारसी खाडीको साँघुरो मुहान हो जहाँबाट तेल व्यापारको पाँचौं भाग जान्छ । सभामुख कालिबाफले युरोपमा आतंकवाद फैलाउन सबैभन्दा ठूलो बाधा रहेको गार्डमाथि आक्रमण गर्ने प्रयास गरेर युरोपेलीहरूले वास्तवमा आफ्नै खुट्टामा बन्चरो हानेको टिप्पणी गरेका छन् । अमेरिकीहरूको अन्धो आज्ञाकारिताको माध्यमबाट, उनीहरूले फेरि एक पटक आफ्नै जनताको हितविरुद्ध निर्णय गरेको बताउदै उनीसहित सत्रमा उपस्थित सांसदहरूले अमेरिका मुर्दावाद ! र इजरायल मुर्दावाद ! को नारा लगाएका थिए ।
१४- पत्रकार दिनेश सिटौलाको निधन भएको भएको छ । ग्राण्डी अस्पतालमा उपचारत सिटौलाको आज १२: ४५ बजे निधन भएको अस्पतालले जानकारी दिएको हो । ग्राण्डीमा भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले शुक्रबार अपराहन्न १२: ४५ बजे मृत घोषणा गरेका हुन् । सिटौला अछाममा गएका बेला अचानक बेहोस भएर ढलेपछि शुक्रबार काठमाडौं ल्याइएको थियो । सिटौला चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष समेत हुन् ।
१५- बलिवुड फिल्म धुरन्धरले नेपालमा १० करोड भन्दा बढी कमाएको छ । नेपाल चलचित्र विकास बोर्डका अनुसार धुरन्धरले शनिबारसम्म नेपालमा १० करोड ५३ लाख ५५ हजार ३६१ कमाई गरेको छ । धुरन्धरका अहिलेसम्म ३ लाख १९ हजार ८८८ टिकट बिक्री भएको बोर्डले जानकारी दिएको छ । त्यस्तै हलिवुड फिल्म अवतार फायर एण्ड एशले अहिलेसम्म ६ करोड ६७ लाख ५४ हजार १२४ कमाई गरेको छ । अवतारका एक लाख ६२ हजार ५०६ टिकट बिक्रि भएको बोर्डले जानकारी दिएको छ । त्यस्तै अघिल्लो शुक्रबार रिलिज भएको बलिवुड फिल्म बोर्डर-२ ले शनिबारसम्म २ करोड २१ लाख ९३ हजार कमाई गरेको छ । धुरन्धर भारतमा भने अहिलेसम्मकै सबै भन्दा बढी कमाई गर्ने बलिवुड फिल्म बनेको छ । धुरन्धरले अहिलेसम्म ८९३ करोड कमाई गरेको छ ।
१६- राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले झापा- ५ र ३ मा एमालेसँग चुनावी तालमेल नभएको स्पष्ट गरेका छन् । लिङदेनले झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको भनेर सुनियोजित रुपमा भ्रम सिर्जना गर्ने कोसिस भइरहेको भन्दै उनले यसलाई साइबर कानुनको उलंघन भएको टिप्पणी गरेका छन् । उनले भनेका छन्- ‘एउटा सानो झुण्ड झापा ५ र ३ मा राप्रपाले एमालेसँग गठबन्धन गरेको छ भनेर सुनियोजित रुपमा प्रचारमा उत्रेर भ्रम सिर्जना गर्ने कोसिस गरिरहेको छ । म शालिनतापूर्वक आग्रह गर्छु यो पनि निर्वाचन आचार संहिता र साइबर कानुनको उल्लंघन हो ।’ अध्यक्ष लिङदेनले सामाजिक सञ्जालमा यस प्रकारका भ्रमपूर्ण सन्देश लेख्ने र कमेन्ट गर्ने सबैलाई निर्वाचन आयोग र प्रहरीमा उजुरी गर्ने तयारी गरिरहेको समेत बताएका छन् । उनले यसपटक राप्रपाले देशैभर कुनै दलसँग चुनावी गठबन्धन नगरिकन जनतासँग गठबन्धन गर्दै निर्वाचनमा होमिएको समेत स्पष्ट गरेका छन् ।
१७- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौतामा हस्ताक्षर गरेको दाबी गरेका छन् । भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाइएपछि, अमेरिकाले भेनेजुएलाको तेल उद्योगको नियन्त्रण लिने योजना बनाइरहेको छ । ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो मात्रामा तेल आपूर्ति गर्न तयार भएको समेत बताएका छन् । ट्रम्पले पहिले नै भारतसँग सम्झौता गरिसकेको बताउदै भारतले इरानको सट्टा भेनेजुएलाबाट तेल किन्न सक्छ र त्यो सम्झौता गरिसकेको उनको दाबि छ । ट्रम्पले भने- ‘चीनलाई भेनेजुएला तेल किन्न पनि स्वागत छ, तिनीहरू आएर किन्न सक्छन् ।’ ट्रम्पको दावीको बारेमा भारत सरकारका तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन ।
१८- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको तोलाको १८ हजार ८ सयले घटेर तोलाको ३ लाखमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार सुन तोलाको ३ लाख १८ हजार ८ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्यमा पनि ठुलो गिरावट आएको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ सय ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ५ सयमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको ७ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।
१९- इङलिश प्रिमियर लिग अन्तर्गत आर्सनलले लिड्स युनाइटेडमाथि शानदार जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा आर्सनलले लिड्स युनाइटेडलाई ४-० गोल अन्तरले पराजित गरेको हो । आर्सनलको जितमा मार्टिन जुबीमेन्डी, भिक्टर ग्योकेरेज र गाब्रियल जिससले एक एक गोल गरेका थिए भने एक गोल लिड्स युनाईटेडका कार्ल डार्लोवले आत्मघाती गोल गरेका थिए । यो जितपछि आर्सनलको २४ खेलमा ५३ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै लिड्स युनाइटेडको २४ खेलमा २६ अंक रहेको छ र लिगमा १६औं स्थानमा रहेको छ ।
२०- मध्य युरोपको सानो देश स्लोभाकियाले पूर्वी युरोपको समाजवादी युगमा एक समय अकल्पनीय रूपमा कल्पना गर्न नसकिने विश्वव्यापी अटोमोबाइल उद्योगमा स्थान हासिल गरेको छ । केवल ५४ लाख जनसंख्या भएको यो देशले वार्षिक रूपमा लगभग १० लाख कार उत्पादन गर्छ र प्रतिव्यक्ति उत्पादनको हिसाबले विश्वको सबैभन्दा ठूलो कार निर्माता बनेको छ । कोरियाली विशाल कार कम्पनी कियादेखि फक्सवागन, स्टेलान्टिस र जगुआर ल्याण्ड रोभरसम्मको विश्वव्यापी कार कम्पनीहरूको विश्वासले स्लोभाकियाको अर्थतन्त्र, कार्यबल र भौगोलिक स्थानको हब बनेको छ । रिपोर्ट अनुसार, उत्तरी स्लोभाक शहर जिलिना बाहिर हिउँले ढाकिएको पहाडहरूको बीचमा अवस्थित कियाको विशाल कारखानाले यो औद्योगिक सफलताको ज्वलन्त उदाहरण प्रस्तुत गरेको छ । यहाँ, ६९० रोबोटहरूले स्टील कार बडीहरू वेल्ड गर्छन् र तिनीहरूलाई एसेम्बली लाइनको सुरुवातमा ल्याउँछन् । त्यसपछि, रातो प्यान्ट र सेतो टी-शर्ट लगाएका हजारौं कामदारहरूले यी स्टील संरचनाहरूलाई समाप्त कारहरूमा रूपान्तरण गर्छन् । चेकोस्लोभाक समाजवादी गणतन्त्रको समयमा, यहाँ निर्मित कारहरूलाई पश्चिमी मापदण्डहरूद्वारा कमजोर, कोलाहलपूर्ण र इन्धन गहन मानिन्थ्यो । यद्यपि, १९८९ को भेल्भेट क्रान्ति पछि, तस्वीर परिवर्तन हुन थाल्यो । १९९१ मा, फक्सवागनले स्कोडामा लगानी गर्न थाल्यो र २००० सम्ममा सम्पूर्ण कम्पनी अधिग्रहण गर्यो । १९९३ मा चेक गणतन्त्र र स्लोभाकिया अलग भएपछि, दुवै देशहरूमा विदेशी कार निर्माताहरूको लगानी द्रुत गतिमा बढ्यो । स्लोभाकियामा लगभग ३६० आपूर्तिकर्ता कम्पनीहरू सञ्चालनमा छन्, जसले अटो उद्योगको मेरुदण्ड बनाएका छन् । सरकारले लगानी आकर्षित गर्न कर क्रेडिट र अन्य प्रोत्साहनहरू पनि प्रदान गर्ने नीति अबलम्बन गरेको छ । यसबाहेक, कम श्रम लागत क्षेत्रको वृद्धिको प्रमुख कारण साबित भइरहेको बताइएको छ । जिलिनाको मेयर पिटर फियाबेनका अनुसार, किया र यसका सम्बद्ध कम्पनीहरूले यस क्षेत्रमा बेरोजगारी घटाएका छन् र आर्थिक शक्ति बढाएका छन् । आज, २०,००० भन्दा बढी मानिसहरू प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कियाद्वारा रोजगारी पाएका छन्। जिलिनाको प्राविधिक विद्यालयमा, १०० विद्यार्थीहरूले केआईए-प्रायोजित दोहोरो कार्यक्रममा एकैसाथ अध्ययन गर्छन् र काम गर्छन्, जबकि जिलिनाको विश्वविद्यालयबाट लगभग ४०० स्नातकहरूले प्रत्येक वर्ष रोजगारी पाउँछन् ।













