फागुन १३ गते २०८२ --:--:--
मेनु

मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: आन्तरिक आर्थिक तथा वित्तीय स्थिति

मेरो आर्थिक मेरो आर्थिक फागुन १३ गते २०८२ ६:१५ AM
मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा: आन्तरिक आर्थिक तथा वित्तीय स्थिति

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–८३ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामा मुद्रास्फीति उल्लेख्य रूपमा घटेको, विप्रेषण आप्रवाह उच्च दरले बढेको तथा बाह्य क्षेत्र सुदृढ बनेको देखिएको छ भने बैंकिङ क्षेत्रमा निष्क्रिय कर्जा बढ्दो क्रममा रहेको उल्लेख छ ।

मुद्रास्फीति घट्यो, तर आगामी दिनमा चापको संकेत

समीक्षाअनुसार वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २०८१ पुसमा ५.४१ प्रतिशत रहेकोमा २०८२ पुसमा घटेर २.४२ प्रतिशतमा सीमित भएको छ। मूल्य सूचकाङ्कमा ३५.५ प्रतिशत भार रहेको खाद्य तथा पेय पदार्थ समूहको मूल्य ०.०९ प्रतिशतले घटेकाले समग्र मुद्रास्फीति न्यून हुन पुगेको हो। यस अवधिमा खाद्यान्न, दाल तथा गेडागुडी, तरकारी र मरमसला लगायतका अन्नबालीको मूल्यमा उल्लेख्य गिरावट आएको छ । गैर-खाद्य तथा सेवा समूहको मुद्रास्फीति भने ३.८१ प्रतिशत कायम रहेको छ ।

यद्यपि समीक्षा अवधिमा थोक मूल्य सूचकाङ्क र तलब तथा ज्याला सूचकाङ्क बढेकाले आगामी दिनमा मुद्रास्फीतिमा केही दबाब पर्न सक्ने संकेत गरिएको छ। वार्षिक विन्दुगत थोक मुद्रास्फीति २०८१ पुसमा ४.०१ प्रतिशत रहेकामा २०८२ पुसमा ५.१७ प्रतिशत पुगेको छ। त्यस्तै तलब तथा ज्याला सूचकाङ्क २.८५ प्रतिशतबाट बढेर ६.०३ प्रतिशत पुगेको छ ।

निर्यात र विप्रेषणमा उल्लेख्य वृद्धि

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल वस्तु निर्यात ४३.८ प्रतिशतले वृद्धि भई १४२ अर्ब २ करोड रुपैयाँ पुगेको छ। वस्तु आयात १४.२ प्रतिशतले वृद्धि भई ९३९ अर्ब २ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा कुल वस्तु व्यापार घाटा १०.१ प्रतिशतले बढेर ७९७ अर्ब रुपैयाँ पुगेको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह ३९.१ प्रतिशतले वृद्धि भई १०६२ अर्ब ९३ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा यस्तो वृद्धि ४.२ प्रतिशत मात्र थियो ।

यसैगरी चालु खाता ४२९ अर्ब ९१ करोड रुपैयाँ र शोधनान्तर स्थिति ५०१ अर्ब २४ करोड रुपैयाँ बचतमा रहेको छ। अघिल्लो वर्ष सोही अवधिमा चालु खाता १६५ अर्ब ६७ करोड र शोधनान्तर २४९ अर्ब २६ करोड रुपैयाँ बचतमा रहेको थियो।

सरकारी खर्च र राजस्व दुवैमा सामान्य वृद्धि

आर्थिक वर्ष २०८२-८३ को दोस्रो त्रैमाससम्म संघीय सरकारको कुल खर्च ३.४ प्रतिशतले र राजस्व परिचालन ३.२ प्रतिशतले बढेको छ । यस अवधिमा कुल खर्च ६९० अर्ब २२ करोड रुपैयाँ पुगेको छ। जसमध्ये चालु खर्च ४८७ अर्ब १४ करोड, पुँजीगत खर्च ४९ अर्ब ४३ करोड र वित्तीय व्यवस्था खर्च १५३ अर्ब ६५ करोड रुपैयाँ रहेको छ ।

कुल राजस्व परिचालन (प्रदेश र स्थानीय तहमा बाँडफाँट हुने रकमसहित) ५७७ अर्ब ४० करोड रुपैयाँ पुगेको छ। दोस्रो त्रैमासमा सरकारले १७७ अर्ब ८७ करोड रुपैयाँ आन्तरिक ऋण र ३४ अर्ब ३७ करोड रुपैयाँ बाह्य ऋण गरी कुल २१२ अर्ब २४ करोड रुपैयाँ सार्वजनिक ऋण परिचालन गरेको छ ।

मुद्रा आपूर्ति र कर्जा प्रवाहमा विस्तार

विस्तृत मुद्रा आपूर्ति २०८१ पुसमा १०.२ प्रतिशतले वृद्धि भएकोमा २०८२ पुसमा १४.२ प्रतिशतले वृद्धि भएको छ। विप्रेषण आप्रवाह उच्च दरले बढ्दा खुद वैदेशिक सम्पत्ति विस्तार भई मुद्रा आपूर्ति बढेको राष्ट्र बैंकले जनाएको छ ।

समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ३.६ प्रतिशत (१९७ अर्ब ४७ करोड रुपैयाँ) ले वृद्धि भई ५६९५ अर्ब १७ करोड रुपैयाँ पुगेको छ। निक्षेप परिचालन ५.७ प्रतिशत (४१७ अर्ब ४८ करोड रुपैयाँ) ले वृद्धि भई ७६८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।

तरलता व्यवस्थापनमा कडाइ

दोस्रो त्रैमाससम्म विभिन्न उपकरणमार्फत २८ हजार ७१२ अर्ब ४० करोड रुपैयाँ बराबर तरलता प्रशोचन गरिएको छ भने ओभरनाइट सुविधामार्फत १२ अर्ब ५० करोड रुपैयाँ तरलता प्रवाह गरिएको छ। यसरी खुद २८ हजार ६९९ अर्ब ९० करोड रुपैयाँ बराबर तरलता प्रशोचन भएको छ । अमेरिकी डलर खरिदमार्फत ४९३ अर्ब ४ करोड रुपैयाँ बराबर तरलता खुद प्रवाह भएको छ।

निष्क्रिय कर्जा बढ्दो

बैंक तथा वित्तीय संस्थाको निष्क्रिय कर्जा अनुपात २०८२ असारमा ४.६२ प्रतिशत रहेकामा २०८२ पुसमा बढेर ५.४२ प्रतिशत पुगेको छ । वाणिज्य बैंकको औसत निष्क्रिय कर्जा ५.२६ प्रतिशत, विकास बैंकको ५.७५ प्रतिशत र वित्त कम्पनीको ११.८५ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ । समग्रमा समीक्षा अवधिमा बाह्य क्षेत्र सुदृढ र मुद्रास्फीति नियन्त्रणमा रहे पनि बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा वृद्धि तथा थोक मूल्य र ज्यालामा देखिएको वृद्धि आगामी दिनमा चुनौतीका रूपमा रहने संकेत गरिएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?