काठमाडौँ । आपतकालीन स्वास्थ्य अवस्था व्यवस्थापन गर्न एम्बुलेन्स सेवाको निरन्तरता, गुणस्तरीयता, व्यावहारिकता, वैज्ञानिकताका विषयमा आज काठमाडौँ महानगरपालिकाका छलफल भएको छ ।
महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको सल्लाहकार समितिको वैठकमा छलफल भएको हो । छलफलमा स्वास्थ्य विभाग, वित्त विभागका अधिकारी र नेपाल एम्बुलेन्स सेवाका पदाधिकारी विच छलफल भएको हो ।
छलफलमा कार्यवाहक प्रमुख डंगोलले, एम्बुलेन्स सञ्चालनको वैज्ञानिकताका लागि अध्ययन गर्नु पर्ने बताउँदै जटिल स्वास्थ्य अवस्था आएर आपत सिर्जना भएका ठाउँमा स्वास्थ्यकर्मीलाई छिटो पुग्नका लागि २ पाङ्ग्रे एम्बुलेन्स सञ्चालनको तयारी गर्न स्वास्थ्य विभागलाई निर्देशन दिएकी छन् ।
यो प्रिहस्पिटल मेडिकल सर्भिस हो । यो सेवा सञ्चालनका लागि महानगरपालिकाले २०७६ वैशाख महिनामा केन्द्रसँग सम्झौता गरेको थियो । त्यस यता महानगरपालिकाले १३ करोड ४४ लाख रुपियाँ अनुदान प्रदान गरेको छ । अहिलेको सञ्चालन अभ्यासमा एक जना विरामीका लागि १ हजार ६०५ रुपियाँ खर्च हुने गरेको छ । यो खर्च महानगरपालिकाले व्यहोर्दै आएको छ ।
छलफलमा स्वास्थ्य विभागका प्रमुख दिपक कुमार केसीले महानगरपालिकाको सेवामा उपत्यकाका अन्य पालिकाको आर्थिक साझेदारिताको सम्भावनामा छलफल गर्नु पर्ने खाँचो देखाए ।
छलफलमा एम्बुलेन्स सेवाका अध्यक्ष डा. अनिल श्रेष्ठले, संवेदनशील घटना व्यवस्थापन गर्ने जटिल जिम्मेवारीलाई वहन गर्नु सजिलो नभएको धारणा राखे । सहकार्यबाट प्राप्त उपलब्धिका विषयमा एम्बुलेन्स सेवाका सदस्य डा. आशिष श्रेष्ठ र कार्यालय प्रमुख अमित जोशीले महानगरपालिकासँग सहकार्य भएपछि ८४ हजार ४८९ जना विरामीलाई सेवा प्रदान गरिएको बताए । यस क्रममा ६९ जना गर्भवती महिलाले एम्बुलेन्समै बच्चालाई जन्म दिएका थिए ।
कोविड १९ का समयमा २३ हजार ५ सय जनालाई सेवा प्रदान गरिएको थियो । अहिले काठमाडौँ महानगरपालिकाभित्र ७ वटा, कीर्तिपुर अस्पतालमा एउटा, ललितपुरको सातदोबाटोमा एउटा र भक्तपुरको सल्लाघारीमा एउटा एम्बुलेन्स राखेर सेवा दिइँदै आएको छ ।
सम्पर्क गरेपछिको ८ मिनेटमा विरामी भएको ठाउँमा एम्बुलेन्स पुग्न सक्ने मापदण्ड बमोजिम सेवा सञ्चालन गर्न उपत्यकाका लागि ४९ वटा एम्बुलेन्स आवश्यक पर्छ । अध्ययनमा छलफल गर्दै सवारी चापले सिर्जना गर्ने चुनौतीको सामना गर्ने रणनीति बनाउनु पर्नेमा जोड दिइयो ।













