वैशाख ८ गते २०८३ --:--:--
मेनु

सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मेरो आर्थिक मेरो आर्थिक वैशाख ८ गते २०८३ १०:४० AM
सोपान फर्मास्यूटिकल्सको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

सोपान फर्मास्यूटिकल्स लिमिटेड ले सर्वसाधारणका लागि खुला गरेको प्राथमिक शेयर (आईपीओ) मा आवेदन दिने आज (बैशाख ८ गते) अन्तिम दिन रहेको छ।

कम्पनीले यसअघि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको आईपीओ बाँडफाँट गरिसकेपछि दोस्रो चरणमा सर्वसाधारणका लागि शेयर बिक्री खुला गरेको हो।

कम्पनीले कुल १ अर्ब ७१ करोड ६० लाख रुपैयाँ जारी पूँजीको २५ प्रतिशत बराबर ४२ करोड ९० लाख रुपैयाँ मूल्यको ४२ लाख ९० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। यसमध्ये १० प्रतिशत अर्थात ४ लाख २९ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको थियो, जुन बाँडफाँट भइसकेको छ।

त्यस्तै, १ लाख ७१ हजार ६०० कित्ता कर्मचारीका लागि र २ लाख १४ हजार ५०० कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको शेयर पनि वितरण भइसकेको छ।

अब बाँकी रहेको ३४ लाख ७४ हजार ९०० कित्ता शेयर सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले बिक्रीमा ल्याइएको हो, जसको कुल मूल्य ३४ करोड ७४ लाख ९० हजार रुपैयाँ बराबर हुन्छ।

लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम ११ हजार कित्तासम्मका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।

आईपीओको निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। आवेदन  सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडद्वारा विकसित ‘मेरो शेयर’ प्रणालीमार्फत सि–आस्बा प्रयोग गरेर दिन सकिन्छ। साथै, नेपाल धितोपत्र बोर्डबाट स्वीकृत बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिनेछ।

रेटिङ्गतर्फ, केयर रेटिङ्ग नेपालले कम्पनीलाई ‘केयरएनपी सिंगल बी’ इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले दायित्व बहन क्षमतामा उच्च जोखिम संकेत गर्दछ।

वित्तीय सूचकांकअनुसार कम्पनीको साधारण लगानी फिर्ता अवधि ८.११ वर्ष र डिस्काउन्टेड फिर्ता अवधि ११.३५ वर्ष रहेको छ। कम्पनीको खुद वर्तमान मूल्य करिब १५ अर्ब ९७ करोड रुपैयाँ रहेको छ भने आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको जानकारी दिइएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?