भाद्र ३ गते २०८३ --:--:--
मेनु

विद्युत महसुलको भ्याट हटाउन उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान

मेरो आर्थिक मेरो आर्थिक भाद्र ३ गते २०८३ २:१५ PM
विद्युत महसुलको भ्याट हटाउन उज्यालो नेपाल पार्टीको हस्ताक्षर अभियान

काठमाडौं । विद्युत महसुलमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) हटाउन माग गर्दै उज्यालो नेपाल पार्टीले सञ्चालन गरेको हस्ताक्षर संकलन अभियान जारी राखेको छ। पार्टीले बुधबार काठमाडौंको माइतीघर मण्डलामा नागरिकबाट हस्ताक्षर संकलन गरेको हो।

चालु आर्थिक वर्षदेखि विद्युत महसुलमा थप भ्याट लगाइएको भन्दै उज्यालो नेपाल पार्टीले त्यसको विरोधमा अभियान सञ्चालन गरेको जनाएको छ। पार्टीले विद्युतमा भ्याट थपिँदा प्रत्यक्ष रूपमा सर्वसाधारणमाथि आर्थिक भार बढेको दाबी गरेको छ।

पार्टीका केन्द्रीय सचिवालय सदस्य राजेन्द्र अवस्थीले नेपाल जलस्रोतका दृष्टिले सम्पन्न भए पनि सरकारले जलविद्युतलाई आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा अघि बढाउन नसकेको आरोप लगाए।

उनका अनुसार विद्युत महसुलमा लगाइएको भ्याट तत्काल हटाइनुपर्ने तथा डेडिकेटेड र ट्रंक लाइन प्रयोग गरेबापत उद्योगीहरूबाट उठ्न बाँकी रहेको बक्यौता रकम असुल गर्न सरकारले प्रभावकारी कदम चाल्नुपर्छ।

अवस्थीले सरकारले आफ्ना माग र सुझावलाई बेवास्ता गरेपछि दबाब सिर्जना गर्न सडकमा आउनुपरेको बताए। नेपालमा पर्याप्त जलस्रोत हुँदाहुँदै विद्युतलाई महँगो बनाउने नीतिले उपभोक्ता र समग्र अर्थतन्त्रमा असर पार्न सक्ने उनको भनाइ छ।

उज्यालो नेपाल पार्टीले माइतीघरबाट सुरु गरिएको हस्ताक्षर अभियानलाई देशका विभिन्न स्थानमा विस्तार गर्ने तयारी गरेको जनाएको छ। नागरिकमाथि प्रत्यक्ष आर्थिक भार पर्ने सरकारी निर्णयविरुद्ध जनसमर्थन जुटाउने उद्देश्यले अभियान सञ्चालन गरिएको पार्टीले बताएको छ।

सम्बन्धित समाचार

छुटाउनुभयो कि ?