काठमाडौं । रसुवामा आएको बाढीपछि ४ सय ३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार सम्पर्कविहीन हुनेमा ३ सय ४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्।
बोर्डका अनुसार सम्पर्कविहीन पर्यटकमध्ये २ सय ३ जना पुरुष र २ सय जना महिला छन्। विभिन्न मुलुकका पर्यटक सम्पर्कविहीन भए पनि सबैभन्दा ठूलो संख्या भारतीय नागरिकको रहेको छ।
प्राप्त विवरणअनुसार भारतका १ सय ३३ जना पर्यटक सम्पर्कविहीन छन्। त्यस्तै अमेरिकाका ४७, अस्ट्रेलियाका ३४, बेलायतका ३३, क्यानडाका २४ र मलेसियाका १९ जना पर्यटकको अवस्था सम्पर्कविहीन रहेको छ।
यसैगरी युक्रेनका ७, दक्षिण अफ्रिकाका ६, सिंगापुरका ६, न्यूजिल्यान्डका ५ र जापानका ५ जना पर्यटक पनि सम्पर्कमा आउन सकेका छैनन्।
जर्मनीका ४, फ्रान्सका ३ तथा स्पेनका २ जना पर्यटकसमेत बाढीपछि सम्पर्कविहीन रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्य जारी रहेकाले सम्पर्कविहीन पर्यटकको अवस्थाबारे थप विवरण संकलन भइरहेको जनाइएको छ।












