वीरगन्ज । रसुवालगायतका जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि वीरगन्ज हेल्थ केयर अस्पतालले १० लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
अस्पतालले शुक्रबार साँझ एक कार्यक्रम आयोजना गरी उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको हो । अस्पतालका अध्यक्ष अबुलहैस अन्सारीले पर्सा क्षेत्र नम्बर १ का सांसद हरि पन्तमार्फत कोषमा १० लाख रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण रसुवा तथा नुवाकोटका विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएको भन्दै अस्पतालले विपद् प्रभावित परिवारको राहत र उद्धारमा सहयोग पुर्याउने उद्देश्यले रकम उपलब्ध गराएको जनाएको छ ।
रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष अन्सारीले बाढीपहिरोमा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनप्रति समवेदना व्यक्त गरे ।
उनले विपद्को समयमा प्रभावित नागरिकका लागि वीरगन्जबाट अपेक्षाअनुसार सहयोग जुट्न नसकेको उल्लेख गर्दै आफूले गरेको सहयोगले अन्य व्यक्ति, व्यवसायी तथा संघसंस्थालाई समेत राहत कोषमा योगदान गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
अन्सारीले विपद्को समयमा सरकारसँगै निजी क्षेत्र, सामाजिक संघसंस्था र सर्वसाधारण नागरिकले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्ने बताए । उनले आगामी दिनमा पनि विपद् प्रभावितको उपचार तथा मानवीय सेवाका क्षेत्रमा आवश्यक सहयोग र सहकार्य गर्न अस्पताल तयार रहेको बताए ।
कार्यक्रममा सांसद हरि पन्तले विपद्का बेला अस्पतालले गरेको आर्थिक सहयोग प्रशंसनीय रहेको बताए । उनले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने क्रममा वीरगन्ज पछाडि रहेको उल्लेख गर्दै अन्य उद्योगी, व्यवसायी तथा सामाजिक संघसंस्थालाई पनि सहयोगका लागि अघि बढ्न आग्रह गरे ।













