काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव फेला परेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३ भदौ १५ गते बिहान ९ बजेसम्मको अद्यावधिक विवरण अनुसार बाढीपछि विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव फेला परेका हुन्।
प्राधिकरणका अनुसार बाढीले बगाएका शवहरू चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिमलगायत विभिन्न जिल्लामा फेला परेका छन्।
फेला परेका शवमध्ये चितवनमा २७२, नवलपरासी पूर्वमा २०७, नवलपरासी पश्चिममा १५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७ र रसुवामा २४ जनाको शव भेटिएको छ।
प्राधिकरणका अनुसार फेला परेका शवमध्ये केही मानव अङ्ग मात्र रहेका तथा पहिचान हुन नसकेका छन्। पहिचान खुल्न नसकेका शव तथा मानव अङ्गलाई विभिन्न २१ वटा अस्पतालमा राखिएको जनाइएको छ।
बाढीका कारण भएको मानवीय क्षतिको विवरण अझै संकलन तथा पहिचानको क्रममै रहेकाले मृतकको संख्या थप बढ्न सक्ने जनाइएको छ।













